प्रहरीबीच झडपः प्रहरी निरीक्षक सहित ५ जना घाइते


धनुषामा जिल्लामा स्थानीय र प्रहरी बीच झडम हुँदा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन् । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा स्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा विवाद भएको थियो ।

औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार राति साढे १० बजेतिर प्रहरी र स्थानीयबीच झडप भएको हो । प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको छन । स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका २ प्रहरी र तीन जना स्थानीय घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायब निरीक्षक एमडी मुस्तफाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ । प्रहरीको लाठी चार्जबाट भाइते स्थानीय तीनै जनाको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । घाइते हुनेमा एक जना महिला रहेकी छिन् ।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए । त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबीच झडप भएका हो ।

Back to top button