अभिनेत्री रागिनी द्विवेदी पक्राउ

एजेन्सीः कन्नड अभिनेत्री रागिनी द्विवेदीलाई भारतीय प्रहरीको केन्द्रीय अपराध शाखाले पक्राउ गरेको छ । कन्नड फिल्म उद्योगसँग जोडिएको लागुऔषधको विषयलाई लिएर प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार सीबीसीको एक टोली बिहानै उनको निवास पुगेको थियो । सीसीबीले बुधबार अभिनेत्री द्विवेदीलाई प्रहरीमा हाजिर हुन भने पनि उनले आफ्ना वकिलको टिम पठाएर सोमबारसम्मको समय मागेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई शुक्रबार उपस्थित हुन भनेको थियो । सीसीबीले उनलाई अदालतमा पेस गर्ने तयारी गरेको छ ।

मादक पदार्थ ब्युरो (एनसीबी) ले बैङ्लोरबाट तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागेको छ । कन्नड फिल्म उद्योगका कम्तीमा १५ जना व्यक्ति मादकपदार्थसँग सम्बन्धित कारोबारमा सामेल रहेको समाचार छ ।

उता केही समय पहिले आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन् । उनलाई लागूपदार्थ खरिद र कारोबार गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । यसअघि सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक शमुएल मिरन्डालाई पनि सोही आरोपमा हिरासतमा राखिएको छ ।

Back to top button