अन्तिम खेलमा जमैका पराजित, सन्दीपले लिए १२ विकेट

सेमिफाइनल पुगिसकेको जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा पराजित भएको छ । सेन्ट लुसिया जुक्ससँग जमैका ११ रनले पराजित भएको हो ।

सोमबार बिहान भएको खेलमा १४६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको जमैकाले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रनमात्रै बनाउन सक्यो । जमैकाका लागि ग्लेन फिलिप्स र जर्मिन ब्लाकवोल्डले उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा हार्न पुग्यो । फिलिप्सले ३६ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गर्दै ४९ रन बनाए । त्यस्तै, ब्लाकवोल्डले २५ रन बनाए । पहिलो विकेटको लागि फिलिप्स र ब्लाकवोल्डले ८४ रनको साझेदारी गरेका थिए ।

निकोलस किर्टनले २५ र चाडविक वाल्टनले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक बटुल्न पनि सकेनन् । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका आन्द्रे रसेल शून्यमै पेभिलियन फर्किए । बलिङतर्फ जुक्सका जाहिर खान र जाभिल ग्लेनले समान ३–३ विकेट लिँदा केस्रिक विलियम्सले दुई विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । उसको लागि नजिबउल्लाह जाड्रानले ३५ रन बनाउँदा रोस्टन चेसले अविजित ३२ रन बनाए। बलिङतर्फ मुजिब उर रहमानले दुई विकेट लिए।

सन्दीपको १२ विकेट

सन्दीप लामिछानेले भने चार ओभरमा एक मेडन ओभर राख्दै २० रन खर्चिएर एक विकेट लिए । योसँगै सन्दीपले जारी लिगमा १२ विकेट लिएका छन् ।

नेपाली युवा स्टार खेलाडी सन्दीप सिपिएलमा सफल बलरको रुपमा स्थापित भएका छन् । उनले सिपिएलको लिग चरणका १० खेलमा १२ विकेट लिएका हुन्। उनले प्रत्येक खेलमा विकेट लिएका छन् ।

Back to top button