ओलीकै शैली पछ्याउँदै थापाः नारायणकाजी माथि रुखो शद्ध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता एवम प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठमाथि प्रचार विभाग उपप्रमुख सूर्य थापा समाजिक सञ्जालमा खनिएका छन् । भदौ २९ गते पदावधि समापन भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति र स्वयंमसेवक परिचालनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापा आफ्नै विभाग प्रमुखमाथि यसरी खनिएका हुन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा उठाएका ती दुई विषयमा सामाजिक सञ्जालबाटै थापाले प्रवक्ताको जिम्मेवारीमा बसेर पदीय दायित्व ख्याल नगरेको भन्दै आलोचना गरेका हुन् । श्रेष्ठले आइतबार कुलमान घिसिङको पुनः नियुक्ति हुनेमा आफू विश्वस्त रहेको लेखेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ‘काम कुरो अर्कोतिर कुम्लो बोकी ठिमीतिर भन्ने’ उखान हालेर उडाएका छन् । कुलमानका पक्ष विपक्षमा हुनु मतभिन्नता भएपनि एक अवधि पूरा गरेका घिसिङको पुनः नियुक्तिमा पार्टी प्रवक्ता नै खुलमखुल्ला लबिङमा लाग्नु ठिक नभएको थापाले जिकिर गरेका छन् ।

‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ?,’ उनले प्रश्न गर्दै भनेका छन्, ‘पार्टीको हाल जिम्मेवारी यही हो र ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ?’ सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको भन्दै थापाले प्रति‍प्रश्न गरेका छन् ।

 

 

Back to top button