भारतीय रियालिटी सो ‘बिग बोस’ सुरू हुँदै

एजेन्सीः भारतीय रियालिटी टेलिभिजन खेल कार्यक्रम ‘बिग बस’ को १४ औं सिजन यही अक्टुबर ३ देखि सुरू हुने भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार कार्यक्रमका सञ्चालक (होस्ट) सलमान खानले यो कार्यक्रमसँगै सन् २०२० का सबै ‘समस्या’ समाधान हुने बताएका छन् ।

बढ्दै गएको कोरोना भाइरस संक्रमण र महामारीबीच अधिकांश जनता घरमै छन् । यस्तो अवस्थामा सलमान खान भने ‘बिग बस १४’ सँगै आफ्नो काममा फर्केका हुन् । यो कार्यक्रममा दर्जन बढी सेलेब्रेटी केही महिनाका लागि एउटै घरमा बस्नुपर्ने हुन्छ । र, यही क्रममा उनीहरू प्रतिस्पर्धामा पनि भिड्नुपर्ने हुन्छ। अन्त्यमा जो सेलेब्रेटी त्यो घरमा बाँकी रहन सफल हुन्छ, उनी नै बिग बसका विजेता कहलिन्छ ।

प्रोमोमा भनिएको छ, ‘अक्टोबर ३ देखि कार्यक्रम सुरू हुँदैछ । यसले २०२० का सबै नराम्रा घटनालाई जवाफ दिनेछ ।’ प्रोमो भिडिओमा सुरूआतमा सलमानलाई हात र खुट्टामा साङ्लाले बाँधिएको देखिन्छ। उनले मास्क लगाएका छन् । साङ्लोलाई उनी केही समयमै फुत्काउँछन् । अनुहारको मास्क हटाउँछन् । अनि आफ्ना प्रशंसकलाई वचन दिँदै भन्छन्, ‘यस वर्ष सामना गर्नुपरेका सबै समस्या ध्यानमा राखिनेछ । २०२० को हरेक समस्या चकनाचुर गर्न आएका छौं ।’

बिग बस सिजन-१४ मा कुन-कुन सेलेब्रेटी प्रतिस्पर्धामा उत्रिँदैछन् भन्ने स्पष्ट विवरण बाहिरिएको छैन । यद्यपि हिन्दुस्तान टाइम्सका अनुसार कार्यक्रममा जसमिन भासिन, एली गोनी, करन पटेल, एजाज खान, सारा गुर्पाल, नेहा शर्मा, कविता पुनिया र नैना सिंह रहेका छन् ।

सम्प्रेषित समाचार अनुसार बिग बस सिजन १४ मा प्रतियोगीहरूलाई महामारी समय बाहिरी दुनियाँमा गर्न रोक लगाइएका कार्यहरु गर्न अनुमति दिइनेछ । जस्तै सपिङ, बाहिर खाने वा फिल्म हल जाने। यस पटकको बिग बस सिजनलाई ‘२०२० लाई सुहाउँदो जवाफ’ का रूपमा उतारिने बताइएको छ ।

 

Back to top button