सरकार इमानदार बन्‍न कांग्रेस सभापति देउवाको सुझाव

कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारसँग -आग्रह गरेका  छन् ।

‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ’, सभापति देउवाले संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ ।’ तर, त्यसपछिका दिनमा संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप उनले लगाएका छन् ।

‘यसलाई मैले गम्भीरतापूर्वक लिएको छु’, उनले भनेका छन् । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

Back to top button