तान्जानियाका सामान्य लाइजर रातारात करोडपति

तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका उनी करोडपति बनेका हुन् । कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् ।

‘भोलि ठूलो भोज हुन्छ,’ लाइजरले भने । तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ । यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो । एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन् ।

यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ । यसको मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ। तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ ।

लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए । यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३.३ किलोग्राम थियो ।

राष्ट्रपति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिए । ‘यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ,’ राष्ट्रपतिले भने । सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देशको आम्दानी बढाउने नाराका साथ विजयी भएका थिए ।

को हुन् लाइजर ?

करोडपति बनेका ५२ वर्षीय लाइजर खानीमा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्छन् । उनका चारवटी श्रीमती र ३० सन्तान छन् । उनले आफ्नो समुदायका लागि पनि लगानी गर्ने बताएका छन् । ‘म एउटा किनमेल केन्द्र र एउटा विद्यालय निर्माण गर्न चाहन्छु । म आफ्नो घरनजिकै विद्यालय बनाउन चाहन्छु । यहाँ आफ्ना छोराछोरी विद्यालय पठाउन खर्च गर्न नसक्ने धेरै गरिब मानिसहरू छन् ।’ ‘म शिक्षित छैन तर मलाई व्यावसायिक रूपमा काम गरेको मन पर्छ । त्यसैले म मेरा बालबच्चाले व्यवसाय गरून् भन्ने चाहन्छु ।’

उनले नयाँ धनले आफ्नो जीवन परिवर्तन नहुने बताए र आफ्ना २,००० गाईको हेरचाह गरिरहने बताए । र नयाँ धन प्राप्त गरेका कारण थप सर्तकता पनि अपनाउन नपर्ने बताए । ‘यहाँ यथेष्ट सुरक्षा छ । कुनै समस्या हुँदैन। म राति पनि विनासमस्या हिँड्न सक्छु ।’

लाइजरजस्ता केही व्यक्तिहरू तान्जानाइट खोज्न सरकारको अनुमति लिन्छन् तर धेरैले गैरकानुनी रूपमा ठूला कम्पनीका खानीवरपर उक्त पत्थर खोजी गरिरहेको बताइन्छ । सन् २०१७ मा राष्ट्रपति मागुफुलीले २४ किलोमिटर लामो पर्खाल लगाएर तान्जानाइट पाइने संसारको एकमात्र स्थान मेरेलानी घेर्न सेनालाई आदेश दिएका थिए । त्यसको एक वर्षपछि सरकारले खानीबाट हुने आम्दानीमा वृद्धि भएको थियो जसको कारण त्यही पर्खालको निर्माण मानिन्छ ।

Back to top button