अमेरिकीले टिकटक सञ्चालन गर्न दिने ट्रम्पको भनाइ

एजेन्सी- अमेरिकाले चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकलाई सञ्चालनको निरन्तरता दिएको छ । अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालनमा निरन्तरता दिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्ससँग अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टले सम्झौता गरेका थिए । उक्त सम्झौताले नागरिकको डाटा सुरक्षित भएको ठानेर आफूले सहमति प्रदान गरेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएका थिए । टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको ट्रम्प प्रशासनको आरोप थियो । तर, टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ ।

शनिबार बाइटडान्स र ओरेकल तथा वालमार्टबीच भएको सम्झौताले झण्डै १०० मिलियन अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पले बताएको बीबीसीले जनाएको छ । एक दिनअघि अमेरिकाले टिकटक तथा वीच्याटको डाउनलोडमा प्रतिबन्ध गरिएको थियो ।

Back to top button