मार्कसको उत्कृष्ट प्रदर्शनले दिल्लीको सुपर ओभर जित

एजेन्सीः  इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनमा दिल्ली क्यापिटल्सले मार्कस स्टोनिसको उत्कृष्ट प्रदर्शनमा जित सुरुवात गरेको छ । आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दिल्लीले किङ्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हो ।

अस्ट्रेलियाका ३१ वर्षीय स्टोनिसले अलराउन्ड प्रदर्शन गर्दै टिमलाई जित दिलाएका हुन् । उनले टिमका लागि २१ बलको सामना गर्दै ५३ रन जोडे भने २ विकेट हात पारे ।

टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पाएको किङ्सले ८ विकेट गुकाउँदै १५७ रन नै बनाएपछि खेल टाइ भएको थियो ।

किङ्सका लागि मयाङ्क अग्रवालले विष्फोटक ब्याटिङ गर्दै ८९ रन जोडे । त्यस्तै कप्तान केएल राहुलले २१ रन बनाए भने क्रिष्णपा गौतमले २० रन जोडे । तर अन्य ब्याट्स्मेनले भने उल्लेख्य रन बनाउन सकेनन् ।

किङ्सलाई जितबाट रोक्न दिल्लीका मार्कस स्टोनिसले २ विकेट लिए । त्यस्तै कगिसो रबाडा र रविचन्द्रन आश्विनले पनि समान २÷२ विकेट हात पारे भने अक्सर पटेल र मोहित शर्माको नाममा १÷१ विकेट रह्यो ।

यसअघि ब्याटिङ गरेको दिल्लीका लागि मार्कस स्टोनिसले ५३ रन जोडेका थिए । त्यस्तै कप्तान श्रेयस अयरले ३९ तथा रिशभ पन्तले ३१ रनको योगदान गरेका थिए । अन्य ब्याट्समेनले भने दोहोरो अंक छुन सकेका थिएनन् ।

किङ्सका लागि मोहम्मद शामीले ३ विकेट लिए । त्यस्तै शेल्ड्रन कोट्रेलले २ विकेट हात पार्दा रवि बिश्नोइले १ विकेट लिए ।

 

Back to top button