उपप्रधान तथा रक्षामन्‍त्री ईश्वर पोखरेलको मन्त्रालय खोसियोः अर्थमा पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

रक्षामन्‍त्री पोखरेलको भूमिकाप्रति नेपाली सेना असन्तुष्ट थियो । फास्टट्रयाक, मेडिकल खरिद, हतियार आपूर्तिलगायतका विषयमा रक्षामन्‍त्रीबाट अनावश्यक हस्तक्षेप र चलखेल गरेको भन्दै सैनिक नेतृत्वले प्रधानमन्‍त्री केपी ओलीसमक्ष असन्तुष्टि जनाएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलले सेनालाई अपमान र असहयोग गरेको गुनासो प्रधामन्त्रीसँग गरेका थिए । उनको हस्तक्षेपकारी भूमिका कारण सेनाले स्वतन्‍त्र र व्यवसायिक ढंगले काम गर्न समस्या भएको सेनाको भनाइ थियो ।

मेडिकल खरिद प्रकरणदेखि रक्षामन्‍त्रीसँग जंगीअड्डाको सम्बन्ध अलि चिसिएको थियो । हतार हतारमा सेनालाई मेडिकल खरिदमा सामेल बनाएर फसाएको निश्कर्षसहित सेना यो प्रक्रियाबाट बाहिरिएको थियो। सेनालाई विश्‍वासमा लिएर काम गर्न नसकेको भन्दै प्रधानमन्‍त्रीले पनि रक्षामन्‍त्रीको भूमिकाप्रति अप्रशन्‍नता व्यक्त गर्दै आएका थिए ।

गत साउन १५ गते रक्षा मन्‍त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा फास्टट्रयाकको प्रसंगमा रक्षामन्‍त्रीले गरेको टिप्पणी आपत्तिजनक र अपमानजनक रहेको गुनासो सेनापतिले प्रधानमन्‍त्रीसमक्ष गरिसकेका थिए ।

उक्त कार्यक्रममा रक्षामन्‍त्री पोखरेलले सेनाको कार्यशैलीलाई हिन्दी उखान ‘लकिरका फकिर’ सँग तुलना गर्दै टिप्पणी गरेका थिए । फास्टट्र्याक निर्माणमा भइरहेको ढिलाइ प्रसंगमा उनको यस्तो टिप्पणी थियो ।

बुधबार भएको मन्त्रिमण्डल पुनर्गठनमा विष्णु पौडेल अर्थमन्‍त्रीको जिम्मेवारी पाएका छन् । त्यसैगरी बुधबार ओलीले अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

 

Back to top button