३२ वर्षपछि पूरा भयोः जो बाइडेनको राष्ट्रपति बन्ने सपना

एजेन्सीः धेरै मानिसका सपना पानीका फोकाझैं उठ्दै, फुट्दै गर्छन् । जो बाइडेनले भने ३२ वर्षभन्दा बढी समय आफ्नो सपना जिउँदै राखे । त्यसैको तागतले उनलाई संसारको सबभन्दा शक्तिशाली मुलुकको निर्वाचित राष्ट्रपतिका रूपमा ह्वाइट हाउस पुर्‍याएको छ।

राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम घोषणा हुन बाँकी छ । तर उनले अहिलेसम्म पाएको मतका आधारमा प्रमुख समाचार माध्यमहरूले बाइडेनले राष्ट्रपतिको चुनाव जितेको घोषणा गरेका छन् । यो जितसँगै ७७ वर्षीय बाइडेनले सबभन्दा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने रेकर्ड पनि तोडेका छन् ।

आगामी जनवरी २० मा उनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन् । बाइडेन सन् १९७२ मा २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटर निर्वाचित भएका थिए । त्यो बेला धेरैले उनलाई ह्वाइट हाउसका लागि योग्य ‘मटेरियल’ अर्थात् भविष्यमा राष्ट्रपति बन्न लायक ठानेका थिए । अमेरिकाको राष्ट्रपति हुन ३५ वर्ष पुगेको हुनुपर्छ ।

बाइडेनले भने सिनेटर बनेको १२ वर्षसम्म ह्वाइट हाउसको आफ्नो सपनामा भर्‍याङ हालेनन्। सिनेटरकै रूपमा काम गरे । सन् १९८८ मा मात्र राष्ट्रपतिको उम्मेदवार बन्न उनी पहिलोपटक डेमोक्र्याटिक पार्टीको प्राइमरीमा निर्वाचन लडे ।

अमेरिकामा कुनै व्यक्ति राष्ट्रपतिको उम्मेदवार बनेपछि मिडियाले उसको विगत सकेजति खोतल्ने गर्छ । मिडियाले बाइडेनको पनि विगत उधिन्यो । सिनेटरका रूपमा बाइडेनको भाषण गर्ने कलाको खुबै तारिफ हुन्थ्यो । उनको फरसाइलो व्यक्तित्व, सबैसँग घुल्न सक्ने क्षमता र वाककला हेरेरै धेरैले उनलाई सुरूदेखि नै राष्ट्रपतिका लागि योग्य ‘मटेरियल’ भनेका थिए ।

मिडियाले भने उनको त्यही क्षमतामाथि प्रश्न उठायो । भाषण गर्ने शैली र कतिपय विषयवस्तु अरूबाट ‘चोरेको’ आरोप लाग्यो । यहाँसम्म कि, उनी कमजोर विद्यार्थी रहेको र विश्वविद्यालयको थेसिससमेत चोरी गरेको आरोप उनीमाथि लाग्यो ।

डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उनको पक्षमा धेरै उत्साह देखिएन । उनी आफ्नो उम्मेदवारीबाट पछि हटे । त्यो वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट माइकेल डुकाकिस राष्ट्रपति निर्वाचनमा लडे । रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज एच डब्लु बुस (सन् २००० देखि २००८ सम्म राष्ट्रपति रहेका जर्ज बुसका बुबा) राष्ट्रपति निर्वाचित बने ।

त्यसपछि अर्को बीस वर्ष बाइडेनले सिनेटरमै चित्त बुझाए ।

त्यसपछि २००८ को प्राइमरीमा उनले राष्ट्रपतिमा प्रतिस्पर्धा गरे । त्यो बेला डेमोक्र्याटिक पार्टीमा दुई जना चर्चित उम्मेदवार थिए— पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी तथा न्यूयोर्ककी सिनेटर हिलारी क्लिन्टन र इलिनोय राज्यका प्रतिभाशाली युवा उम्मेदवार सिनेटर बराक ओबामा ।

सन् २००४ मा पहिलोपटक सिनेटमा निर्वाचित ओबामालाई धेरैले राष्ट्रपति उठ्न हतार गरेको र अनुभव नपुगेको भनेर आलोचना गरेका थिए ।

राष्ट्रपति बन्ने समय अझै नभएको र विदेश नीतिमा उनको कुनै अनुभव नभएको भनेर बाइडेनले पनि ओबामाको आलोचना गरे । डेमोक्र्याटिक पार्टीभित्र क्लिन्टन र ओबामाप्रति नै धेरै रूचि देखिएपछि बाइडेनले प्राइमरी प्रतिस्पर्धा छाडे ।

त्यो बेला नै ओबामा वा क्लिन्टन जसले राष्ट्रपति जिते पनि बाइडेन विदेशमन्त्री नियुक्त हुने धेरैले अनुमान गरेका थिए । डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षको बलियो साथ रहेकी हिलारी क्लिन्टनलाई कडा प्रतिस्पर्धाबीच पन्छाउँदै ओबामाले डेमोक्र्याटिक पार्टीको उम्मेदवारी जिते ।

राष्ट्रपतिको चुनावमा पार्टी एक बनाउन क्लिन्टनलाई उपराष्ट्रपतिको उम्मेदवार छान्नुपर्ने मत धेरैले राखेका थिए । ओबामाले भने उपराष्ट्रपतिका लागि बाइडेनलाई चुने । अमेरिकामा मतदाताले एउटै मतपत्रमार्फत् राष्ट्रपति र उपराष्ट्रपति दुवै जना चुन्छन् ।

ओबामा राष्ट्रपतिमा उठ्दा ४७ वर्षका मात्र थिए ।

उनीसँग वासिङ्टनको राजनीतिक जटिलताबीच काम गरेको अनुभव कम थियो । विदेश नीतिमा त झनै कुनै अनुभव थिएन । यिनै विषयलाई लिएर उनको आलोचना हुने गरेको थियो । त्यो बेला रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका जोन मकेन विदेश नीतिका ‘भेटेरान’ नै मानिन्थे । उनी सन् १९८२ देखि नै एरिजोना राज्यबाट सिनेटर निर्वाचित हुने गरेका थिए ।

मेकेनको दाँजोमा आफूसँग भएको विदेश नीतिको कमजोर अनुभव पूर्ति गर्न ओबामाले बाइडेनलाई उपराष्ट्रपतिमा चुनेका थिए । सिनेटको विदेश नीतिसम्बन्धी कमिटीको अध्यक्षका रूपमा काम गरेका बाइडेनको परराष्ट्र नीतिमा दख्खल थियो । अर्कातिर बाइडेन त्यो बेला ६५ वर्षका थिए, वासिङ्टनमा सत्ताधारी र प्रतिपक्षी दल मिलेर कसरी काम गर्ने भन्नेमा उनको अनुभव थियो ।

उपराष्ट्रपतिका रूपमा सन् २००८ मा ह्वाइट हाउस छिरेपछि बाइडेनको आधा सपना पूरा भएको थियो । युवा अवस्थाका ओबामा दोस्रो कार्यकालका लागि पनि उठ्नेमा कुनै दुविधा थिएन । त्यसैले ६५ वर्षीय बाइडेनको राष्ट्रपति बन्ने सपना उपराष्ट्रपतिमै सीमित भएको मानिएको थियो ।

ओबामा प्रशासनमा आठ वर्ष बस्दा बाइडेनले अन्तर्राष्ट्रिय नीतिहरूमा ठूलो काम गरे । विश्वव्यापी मुद्दाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरे । पेरिस क्लाइमेट एग्रिमेन्ट र इरानसँगको आणविक सम्झौतामा बाइडेनले महत्वपूर्ण भूमिका खेले ।

उनी उपराष्ट्रपति रहेकै बेला बाइडेनका जेठा छोरा बो बाइडेनको ४६ वर्षकै उमेरमा क्यान्सरका कारण मृत्यु भयो । बोलाई धेरैले बाइडेनको राजनीतिक उत्तराधिकारीका रूपमा हेरेका थिए । बाइडेन पनि उनीसँग धेरै नजिक थिए ।

बोको मृत्यु बाइडेनको जीवनमा दोस्रो ठूलो वियोगान्त घटना थियो ।

सन् १९७२ मा बाइडेन भर्खरै सिनेटर निर्वाचित भएका थिए । काम पनि सुरू गरेका थिएनन् । उनकी श्रीमती निला र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भयो । सोही दुर्घटनामा परेका दुई छोरा भने बाँचे । जिल बाइडेनकी दोस्री पत्नी हुन् ।

छोराको वियोग र हिलारीजस्ती बलियी प्रतिस्पर्धीका कारण बाइडेनले सन् २०१६ मा राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीभित्र प्रतिस्पर्धा गरेनन् । त्यो बेला ७३ वर्ष पुगेका बाइडेनको राष्ट्रपति बन्ने सम्भावना सदाका लागि सकिएको मानिएको थियो ।

सायद बाइडेनको मनको अगेनोमा राष्ट्रपति बन्ने सपनाको न्यानो बाँकी नै थियो । डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालले बाइडेनको सपना र उम्मेदवारीलाई सम्भव बनाइदियो । बाइडेनले चुनाव लड्ने घोषणा गरेकै थिएनन्, तर पनि डेमोक्र्याटिक पार्टीभित्र उनी राष्ट्रपति बन्न सबभन्दा लोकप्रिय छन् भन्ने मत सर्वेक्षणहरूले लगातार देखाए ।

ट्रम्पको आचरण र व्यक्तिगत कमजोरीका जवाफ बाइडेन हुन सक्छन् भन्ने धेरैले ठाने । डेमोक्र्याटिक पार्टीको प्राइमरी फेब्रुअरीमा सुरू हुँदासम्म कोरोना भाइरस अमेरिका पुगिसकेको थियो । प्राइमरीको प्रतिस्पर्धासँगै कोरोनाले पनि अमेरिकालाई गाँज्दै लग्यो । कोरोनाले मानिस भटाभट मर्न थालेपछि यस्तो वियोगको समय मुलुकलाई नेतृत्व दिन योग्य मानिस बाइडेन नै हुन् भन्ने मत बलियो हुन थाल्यो ।

डेमोक्र्याटिक पार्टीभित्र ‘मोडरेट’ र ‘प्रगतिशील’ गरी दुई मुख्य धार छन् ।

प्रगतिशील धारको नेतृत्व बर्नी स्यान्डर्स, एलिजावेथ वारेनहरूले गर्छन् भने बाइडेन मोडरेट धारका प्रमुख अनुहार हुन् । प्रगतिशीलहरू लोकतान्त्रिक विधिभित्रै रहेर राज्यका कतिपय संरचना र नीतिको क्रान्तिकारी परिवर्तनको वकालत गर्छन् भने ‘मोडरेट’हरू त्यति धेरै परिवर्तन अमेरिकी समाजले पचाउँदैन र त्यस्ता नीति लिएर चुनाव जित्न सकिन्न भन्नेमा विश्वास गर्छन् ।

डेमोक्र्याटिक पार्टीभित्र प्राइमरी लड्ने घोषणा गरेदेखि नै बाइडेनले एउटा तर्क गर्दै आएका थिए— राष्ट्रपतिको निर्वाचन जित्न पार्टीले तीन राज्य मिचिगन, विस्कन्सिन र पेन्सलभेनियामा जित हासिल गर्नै पर्छ ।

ट्रम्पले डेमोक्र्याटबाट खोसेका ती राज्य फिर्ता ल्याउन ‘म नै सबभन्दा लायक मानिस हुँ’ भन्ने उनको तर्क थियो । ओबामाले जितेका यी तीनै राज्य हिलारीले पनि जितेकी भए उनी राष्ट्रपति बन्ने थिइन् ।

यी तीन राज्य र वरिपरिको क्षेत्रलाई ‘रस बेल्ट’ भनेर चिनिन्छ । उन्नाइसौं शताब्दीको मध्यदेखि नै अमेरिकाको औद्योगिक क्रान्तिमा यो क्षेत्रले ठूलो भूमिका खेल्यो । ठूला-ठूला उद्योग र कलकारखानाहरू मिचिगन, विस्कन्सिन, पेन्सलभेनिया, ओहाइयो, इलिनोए र न्यूयोर्कको केही क्षेत्रमा खुलेका थिए । तिनले अमेरिकाको औद्योगिकीकरण र समृद्धिमा ठूलो भूमिका खेले ।

पछिल्ला दशकमा भने यो क्षेत्र आर्थिक शिथिलता र अद्योगतिको शिकार भएको छ । तीव्र गतिमा बदलिरहेको प्रविधिदेखि सरसमानको उत्पादनमा अमेरिका नजिकैको मेक्सिकोदेखि टाढाको चीनसम्मको उदयले यसमा काम गरेको छ । त्यसले यो क्षेत्रमा बसोबास गर्ने श्रमिकको जीवनमा ठूलो उथलपुथल र अनिश्चय ल्याएको छ । मुख्यगरी नयाँ प्रविधिमा कम दक्ष र परम्परागत श्रमिकको जीवनमा यो परिवर्तनले ठूलो निराशा ल्याएको छ ।

यही निराशालाई राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा डेमोक्र्याटविरूद्ध प्रयोग गरे । परम्परागत रूपमा मजदुरहरूले डेमोक्र्याटिक पार्टीलाई मत दिने गर्छन् । पुँजीपति र पढे-लेखेका गोरा अमेरिकीको झुकाव रिपब्लिकनतिर हुने गरेको छ ।

डेमोक्र्याटहरूले उत्पादनशील क्षेत्रमा हुने लगानी चीन र मेक्सिकोजस्ता मुलुकमा पुर्‍याउने नीतिलाई बढावा दिएको र श्रमिकहरूलाई धोका दिएको आरोप ट्रम्पले लगाउने गरेका थिए । आफूले जितेमा चीन र मेक्सिकोबाट उद्योगहरू फिर्ता ल्याउने बाचा पनि ट्रम्पले गरेका थिए ।

आफ्नो निजी जीवनमा ठूलो आर्थिक उथलपुथल भोगेका लाखौं श्रमिकलाई ट्रम्पको भाषणले तान्यो । ठूलो संख्यामा मजदुरहरूले डेमोक्र्याटिक पार्टीको सट्टा ट्रम्पलाई भोट खसाले ।

ती श्रमिकलाई नफर्काइ डेमोक्र्याटिक पार्टीले मिचिगन, विस्कन्सिन र पेन्सलभेनियाजस्ता राज्यमा फेरि जित हात पार्न सक्दैनथ्यो । ‘म मजदुरहरूको साथी हुँ र यी राज्य जित्न सक्छु’ भन्ने बाइडेनको आत्मविश्वास सही साबित भएको छ ।

अमेरिकाको राष्ट्रपति पदमा इतिहासमै सबभन्दा धेरै मत खसेको यो निर्वाचनमा बाइडेनले यी तीनै राज्यमा जित हात पारेका छन् । त्यति मात्र होइन, रिपब्लिकनहरूको परम्परागत प्रभाव रहेका दक्षिणी राज्यहरू जर्जिया र एरिजोनामा पनि बाइडेन जित नजिक छन् । जर्जियामा पछिल्लो २८ वर्ष र एरिजोनामा २४ वर्षदेखि कुनै पनि डेमोक्र्याटिक पार्टीका उम्मेदवारले राष्ट्रपति निर्वाचन जितेका छैनन् ।

त्यसबाहेक बाइडेनले ट्रम्पलाई ‘रेकर्ड पपुलर मत’ को अन्तरले जितेका छन् । बाइडेनले ट्रम्पभन्दा ४० लाखभन्दा बढी लोकप्रिय मत पाएका छन् । जबकि सन् २०१६ मा ट्रम्पले राष्ट्रपति जिते पनि हिलारी क्लिन्टनभन्दा २९ लाख मत कम पाएका थिए ।

हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेटमा भने आशा गरेजस्तो सफलता डेमोक्र्याटहरूले यसपालि पाउन सकेनन् । हाउसमा उनीहरूको बहुमत थोरै भए पनि खुम्चिएको छ भने सिनेटमा रहेको रिपब्लिकनहरूको बहुमत उनीहरूले तोड्न सकेनन् ।

यति हुँदाहुँदै बाइडेनले पछिल्लो २८ वर्षपछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिलाई पहिलो कार्यकालपछि नै घर पठाएदिएका छन् । सन् १९९२ मा जर्ज एच डब्लु बुसलाई पहिलो कार्यकालपछि नै हराएर डेमोक्र्याटिक पार्टीका बिल क्लिन्टन राष्ट्रपति बनेका थिए ।

योभन्दा ठूलो अर्को रेकर्ड बाइडेनले यसपटक बनाएका छन्— अमेरिकाको इतिहासमा पहिलोपटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । भारतीय आमा र जमैकन बाबुकी सन्तानका रूपमा क्यालिफोर्नियामा जन्मिएकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् ।

कमला ह्यारिसको पनि बाइडेनको जस्तै राष्ट्रपति बन्ने सपना छ । यसपालि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उनले पनि बाइडेनसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

७७ वर्षीय बाइडेन दोस्रो कार्यकालका लागि नउठ्न सक्छन् भन्ने अनुमान छ । उनी उठेनन् र कमला ह्यारिस उठेर अमेरिकाको पहिलो महिला राष्ट्रपति बनिन् भने त्यसमा पनि बाइडेनले योगदान गरेको मानिनेछ ।

Back to top button