चुनावमा हारेका वामदेवलाई मन्‍त्री बन्‍ने बाटो खुल्‍यो

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्ने बाटो खुला गरिदिएको छ । नेकपाका नेता गौतमको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने बताएपछि उनको यो बाटाे खुलेको हाे ।

राष्ट्रियसभामा गरिएको मनोनयन र मन्त्री बन्ने तयारीविरुद्ध परेका रिटको सुनुवाइ गर्दैै सर्वोच्चको संवैधानिक इजलासले बुधबार उनको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने बताएको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी नहुने बताएपछि अब उनी राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न वा मन्त्री बन्न सक्ने छन् ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिट उपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा उक्त आदेश दिएको थियो । अन्तरिम आदेशबारे टुंगो नलाग्दासम्म वामदेवले कुनै जिम्मेवारी पाएका थिएनन् । अब भने उनलाई जिम्मेवारी दिने बाटो खुलेकाे छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी दिनु नपर्ने बताएको हो ।

वामदेव मुद्दाको प्रारम्भिक सुनुवाइपछि यो मुद्दा हेर्दाहेर्दैमा सर्दै आएको थियो । असोज १४ गते र १६ गते सुनुवाइ भए पनि त्यसपछि सर्वोच्चका न्यायाधीश र कर्मचारीमा संक्रमण देखिएपछि सुनुवाइ रोकिएको थियो ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन् । प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए । संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए ।

Back to top button