आईपीएलको उपाधि मुम्बईले हात पार्यो, फाइनलमा दिल्ली ५ विकेटले पराजित

दुबई: इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले फाइनलमा पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा दिल्लीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

मुम्बईको सहज जितका लागि कप्तान तथा ओपनर रोहित शर्माले ६८ रन जोडे । त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २० रन बनाए । यसैगरी सूर्यकुमार यादवले १९ रनको योगदान गरे ।

दिल्लीका एनरिच नोट्र्जेले २ तथा कगिसो रबाडाले १ विकेट लिए । त्यस्तै मार्कस स्टोनिसले १ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस अयरले ६५ रन बनाएका थिए । त्यस्तै रिसभ पन्तले ५६ रन जोडेका थिए भने शिखर धवनले १५ रन जोडेका थिए । यसबाहेक अन्य ब्याटसमेनले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

दिल्लीलाई सस्तैमा रोक्न मुम्बईका ट्रेन्ट बोल्टले धारिलो बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै नाथन कोल्टर निलले २ र जयन्त यादवले १ विकेट हात पारे ।

हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्लीले भने उपविजेतामै चित्त बुझाउनु पर्‍यो ।

लगातार आईपीएलको उपाधि जित्ने मुम्बई दोस्रो टिम
मुम्बई लगातार आईपीएलको उपाधि जित्ने दोस्रो टिम बनेको छ । यसअघिको १२औँ संस्करणको आईपीएल उपाधि मुम्बईले नै जितको थियो। उसले फाइनलमा चेन्नई सुपर किंसलाई १ रनले पराजित गर्दै रोमाञ्चक रूपमा उपाधि हात पारेको थियो ।

लगातार आईपीएलको उपाधि जित्ने पहिलो टिम भने चेन्नई हो । उसले सन् २०१० र २०११ को आईपीएल उपाधि जितेको थियो ।

कोरोना महामारीका कारण मिति र स्थान परिवर्तन गर्दै १३औँ संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भएको थियो । फाइनल सकिएसँगै आईपीएलको यो सिजन नाभेम्बर १० मा सकिएको छ ।

Back to top button