सेयर बजार निरन्तर उकालोः एकैदिन छ अर्ब बढीको कीर्तिमानी

सुधारिएको सेयर बजारमा दिनदिनै उछाल देखिएको छ । साताको अन्तिम दिन सेयर बजारमा उत्साहजनक वृद्धिसहित कीर्तिमानी कारोबार भएको छ ।

शेयर कारोवार मापक नेप्से (नेपाल स्टक एक्सचेञ्ज)परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्से परिसूचकमा निरन्तर वृद्धिसँगै कारोबार रकमले समेत नयाँ उचाइ हासिल गरेपछि लगानीकर्ताले सेयर बजार अब बुलिस बाटोतिर उन्मुख भएको विश्लेषण गर्न थालेका छन् ।

गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो । पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो ।

यसअघि पनि पौडेल अर्थमन्‍त्री हुँदा सेयर बजारले नयाँ रेकर्ड तोडेको थियो। नेप्से सूचक यसअघिको अहिलेसम्मै सर्वाधित उच्च विन्दु १८८१ पुगेको थियो । पुँजी बजारलाई प्रोत्साहित गर्ने नयाँ अर्थमन्‍त्रीको नीतिगत तयारीसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् । संकटका बेला लगानीका अरु क्षेत्र खुम्चिएको तथा जोखिम बढेकोले पनि लगानीकर्ताहरू सेयर बजार प्रति बढी आकर्षित देखिएका छन् । सस्तो ब्याजदरमा सुलभ रुपमा सेयर कर्जा उपलब्ध हुनु तथा पुँजी बजारलाई प्रोत्साहन गर्नेतिर अर्थमन्‍त्री, गभर्नर तथा अन्य सरोकारवाला निकायको भूमिका सकारात्मक देखिएकोले पनि लगानीकर्तामा आत्मविश्‍वास र उत्साह जागेको हो ।

Back to top button