नेकपा सचिवालय बैठकमा प्रतिवेदन माथि छलफल नै भएन

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुनः बैठक बाहिरैबाट सहमति खोज्न आग्रह गरेपछि मंगलबारकोे सचिवालय बैठकमा नेताहरुबीच भनाभन भएको छ । कार्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि औपचारिक छलफल गर्न बसेको बैठकमा ओलीले छलफल बैैठककै औचित्य नभएको भन्दै यदि छलफल गर्नै परे अलि दिनपछि गर्ने बताएका थिए । यसरी ओलीले पुनः बैठक छल्न खोजेपछि धेरैजसो नेताहरुले प्रतिवाद गरेका थिए ।

महासचिव विष्णु पौडेललाई दुवै अध्यक्षले केक खुवाएपछि अध्यक्ष दाहाले बैठक प्रारम्भ हुन्छ भन्नासाथ अध्यक्ष केपी ओलीले प्रचण्डतिर हेर्दै आजको ‘एजेण्डा के हो ?’ भनेर सोधेका थिए । ओलीले एजेण्डा सोधेपछि ‘दुवै दस्तावेजमाथिको छलफल आजका कार्यसूची हुन्’ भनेपछि ओलीले ‘पहिला म बोल्छु’ भन्दै आफ्ना कुरा राख्न सुरु गरेका थिए ।

एक सचिवालय सदस्यका अनुसार ओलीले दाहालको प्रस्तावलाई लाञ्छनापत्र फिर्ता भएमात्रै छलफल गर्न आफु तयार हुने बताएका थिए । ‘लाञ्छना पत्र फिर्ता हुनुपर्छ, म त्यो लाञ्छना पत्र मान्दै मान्दिन र त्यसमा छलफल पनि हुन सक्दैन । बहुमत, अल्पमत र कमिटी पनि मान्दिन । तपाइहरुले पार्टी फुटाइसक्नुभएको छ, अब के को पार्टी एकता ?’ ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो के को प्रस्ताव हो ? तपाइँहरुले लगाएका आरोपहरुको मैले जवाफ दिइसकेको छु । अब त्यसमा फेरि छलफल किन गर्ने यो हुनै सक्दैन ।’

प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा ओलीले यस्तो बताएपछि नेताहरु एकछिन अन्यौलमा परेका थिए । बैठकमा करिव ४५ मिनेट आफ्नो प्रवचन दिएका ओलीले आफुमाथि निराधार रुपमा गालीगलोज लगाएर ल्याएको आरोपपत्रमा अब छलफल जरुरी नभएको पटक पटक दोहोर्याएका थिए । ‘गालीगलोज गरेर ल्याएको आरोपपत्रको मैले जवाफ दिइसके’ आवेग र उत्तेजनासहित ओलीको जवाफ थियो ।

ओलीले यस्तो बताएपछि अध्यक्ष दाहालले बैठकमा प्रस्तावहरु पेश भएपछि छलफल गरेर निर्णयमा पुग्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । स्रोतका अनुसार त्यसक्रममा नेताहरुबीच चर्को स्वरमा भनाभन नै भएको थियो । सुरुमै बैठक नराख्ने र छलफल नै नगर्ने ओलीको आसय व्यक्त भएपछि बैठकको माहोल केही फरक बनेको एक सचिवालय सदस्यले बताए ।

उनले भने, ‘दुवै अध्यक्षका आआफ्ना पुरानै अडान दोहोरिए । बैठकमा छलफल गरौं भन्ने बहुमत नेताहरुको भनाइ रह्यो । सहमति नहुने बैठक राख्नुको औचिय के हुन्छ र भन्ने प्रधानमन्त्री ओलीको भनाइ आयो ।’ ओलीले अडान नछोडेपछि पुनः प्रचण्ड बोलेका थिए । ‘कमरेड उत्तेजित नहुनुस् प्रस्तावमाथि छलफल सुरु भइसक्यो’, प्रचण्डले यति भन्दा नभन्दै ओली पुनः प्रचण्डतिर झम्टदै ‘कसरी हुन्छ छलफल सुरु ?’ भनेर प्रश्न गरेका थिए ।

त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एकै स्वरमा ‘प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसक्यो त्यसैले तपाईले यस्तो कुरा गर्न सुहाउँदैन’, भन्दै ओलीमाथि दवाव बढाएका थिए ।

‘पार्टीको निर्णयअनुसार प्रस्तावहरु छलफलमा गइसके, अब छलफल गर्दिन भन्न मिल्दैन र पार्टीभन्दा माथि कोही हुँदैन’, नेता नेपालको भनाई थियो । त्यस्तै उपाध्यक्ष वामदेव गौतमले ‘प्रस्ताव छलफलमा गइसक्यो अब छलफल गर्दिन भनेर हुन्छ ?’ भन्दै ओलीलाई प्रश्न गरेका थिए । ‘अब जे हुन्छ पार्टी कमिटी र प्रणालीमा गएर निर्णय हुन्छ’, गौतमले बैठकमा भनेका थिए ।

 

 

Back to top button