संवैधानिक परिषद बैठकमा सभामुख अनुपस्थित

संवैधानिक परिषद् बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भए ।  उपसभामुख रिक्त रहेकाले कोरम पुर्‍याउन पनि सबै सदस्यको उपस्थिति अनिवार्य छ ।

नेकपा विवादको प्रभाव परिषदमा पनि परेको हो । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । बैठकका लागि सरकारबाट समन्वय, पूर्वतयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख नगएको सभामुख निकट भनाई छ ।

सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ । संवैधानिक परिषद बैठकमा सभामुख नजानुको कारण भने नेकपाभित्रको आन्तरिक विवाद रहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक टकराव नटुंगिएसम्म संवैधानिक परिषदको बैठकको अनिश्चितता कायमै रहने बताइन्छ ।

पार्टीमा जारी विवादकाबीच संवैधानिक परिषद बैठक बोलाइएकोमा दाहाल प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको उनीनिकट स्रोतले बताएका छन्।हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत दाहालको भनाइ छ ।

बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा छलफल हुने कार्यसूची थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित विभिन्न आयोगमा ४५ पद रिक्त छन् ।

Back to top button