अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने दाहाल-नेपालको धम्की

सत्ता रुढदल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल पक्षले ततकालिन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको भेला प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्‍ने निश्कर्षसहित सम्पन्न भएको छ ।

अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी समितिबाट निर्णय र निर्देशन समेत भइसकेको अवस्थामा पनि प्रधानमन्‍त्रीले आलटाल गर्नुले गलत सन्देश दिएको उल्लेख गर्दै भेलाले अध्यादेश फिर्ता लिनुको विकल्प निकालेको छ । भेलामा दाहाल, माधव तथा पूर्वअध्यक्ष झलनाथ खनालगायतका नेताहरू सहभागी थिए । भेलामा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको सहभागिता थियो ।

भेलालाई दाहाल र माधव लगायतका नेताहरूले सम्बोधन गर्दै पार्टीभित्र चर्केको द्वन्द्व र यसको निकासबारे बोलेका थिए । नेताहरूले ओली जबरजस्ती पेलेर अघि बढ्ने रणनीतिमा रहेकोले पार्टीले बेलामै नियन्‍त्रण नगरे दुर्घटना हुनसक्‍ने चिन्तासमेत व्यक्त गरेका थिए । अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसदबाटै निकास खोजिनुपर्ने बताएका थिए ।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने निर्णय भएको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच यसबारेमा सहमति भएको थियो । तर बिहीबार बेलुका बोलाइएको मन्त्रिपरिषद्को बैठकमा यसबारेमा कुनै छलफल नभएपछि दाहाल नेपाल समूह झस्किएको छ । मन्‍त्रिपरिषद्को अर्को बैठक कहिले बस्‍ने भन्‍ने टुंगो छैन ।

प्रधानमन्त्री ओलीले विवादित अध्यादेश फिर्ता नहुँदै बिहीबार अपरान्ह परिषद् बैठक बोलाएपछि राजनीतिक वृत्तमा अन्योल र आशंका बढेको थियो । तर त्यो बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नजाने, सभामुख पनि सहभागी नहुने र प्रधानन्यायाधीश पनि सहभागिताका लागि अनिच्छुक देखिएपछि बैठक स्थगित गरिएको थियो । अध्यादेश फिर्ता नहुँदै प्रधानमन्‍त्रीले संवैधानिक परिषद डाकेपछि प्रचण्ड बालुवाटार पुगेर बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

 

Back to top button