३ दलको निष्कर्षः संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक

संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख ३ दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको आह्वानमा पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा छ । उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।

संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि गरेका छन् । कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको बताए ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाकान्त झा र जितेन्द्र सोनल बैठकमा सहभागी थिए ।

Back to top button