सरकार गठन गर्ने विकल्प रहेसम्म प्रतिनिधिसभा विघटन हुन सक्दैन: सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन नहुने दाबी गरेका छन् । संसद विघटनबारे ४ दिनपछि आज एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था बताएका छन् ।

विज्ञप्तिमार्फत उनले पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र मलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ। ’ उनले भनेका छन् ‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो ।’
सापकोटाले विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य स्मरण गराएका छन् । सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मलकको प्रमख कार्यभार भएको उनको भनाई छ ।
संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको सापकोटाको दाबी छ । उनले संवैधानिक सर्वोच्चताका लागि सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको धारणा राखेका छन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएको छ । दाहाल-नेपाल समूहको विघटित नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्रीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधि सभाको नियमित कार्य अघि बढाउन माग गरेको छ ।

Back to top button