मन्‍त्रिपरिषद् विस्तार: यस्ता छन् नयाँ मन्‍त्री, कसकाे मन्‍त्रालय कुन ?

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेपछि केही मन्त्रीले राजीनामा गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

संसद् विघटनको समर्थन गर्ने र विरोध गर्ने गरेर सत्तारुढ नेपाल कम्युनिटस्ट पार्टी (नेकपा)मा दुई समूह बनेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि ओलीले अर्को पक्षका केही प्रभावशाली नेतालाई मन्त्री बनाएका छन् ।

यसरी मन्त्री बन्नेका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ (लामा) पूर्व माओवादीका नेता हुन् ।मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारीसमेत हेरफेर गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार भएसँगै टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहकारी विकास मन्त्री बनेका छन् । त्यसैगरी प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री गौरी शंकर चौधरी श्रम, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् ।

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । लीलानाथ श्रेष्ठ कानुन मन्त्री बन्दा शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् भने पद्मा अर्याल कृषि मन्त्री बनेकी छन् । कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् भने विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । भजर्मन्त्रीपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने हटाएका छन् ।

Back to top button