प्रदेश १ का मुख्यमन्‍त्री हट्नेः संसदीय दलको नेतामा आचार्य

नेकपा दाहाल-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ । बिहीबार आकस्मिक संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

पुस १९ गते संसदीय दलको बैठक बोलाएकोमा पुनः बैठक सारेर बिहीबार बिहानै बैठक राखेर मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिनथालेपछि आकस्मिक रुपमा बैठक बोलाएर बर्खास्त गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको बैठकले राईलाई पदमुक्त गरेर भीम आचार्यलाई दलको नेतामा चयन गरेको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र बिहीबार दर्ता गरेको पुष्टि गरे ।

यसअघि गत आइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए । सोही दिन नेकपा संसदीय दलको नेताबाट पनि उनलाई हटाउन ३६ जना सांसदले संसदीय दलका उपनेता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए ।

 

Back to top button