न्युजिल्यान्डका कप्तान विलियम्सन नम्बर वान ब्याट्सम्यान

न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट क्रिकेटमा नम्बर एक खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टेस्ट क्रिकेटको ब्याटिङमा कप्तान केन शीर्ष स्थानमा उक्लिएका हुन् ।

तेस्रो नम्बरमा रहेका केन ८९० रेटिङ आउँदै शीर्ष स्थानमा उक्लिदा शीर्ष स्थानका अस्ट्रेलियन ब्याट्सम्यान स्टेभ स्मिथ भने तेस्रो स्थानमा झरेका छन् । भारतीय कप्तान विराट कोहली भने दोस्रो स्थानमा यथावत रहेका छन् ।

पहिलो टेस्ट खेलमा पाकिस्तानविरुद्ध १०१ रनको जित निकाल्ने क्रममा न्युजिल्यान्डका कप्तान केनले २३ औं शतक पूरा गरेका थिए । उनले पाकिस्तानविरुद्ध १२९ रन बनाए । यसअघि डिसेम्बर पहिलो साता भएको वेष्ट इन्डिजविरुद्धको खेलमा केनले करियरकै उच्च स्कोर बनाएका थिए ।

उनले वेष्ट इन्डिजविरुद्ध टेष्ट क्रिकेटमा २५१ रनको उच्च रन बनाएका थिए । केनले टेष्ट क्रिकेटमा तीन वटा दोहोरो शतक बनाएका छन्। सन् २०१५ मा श्रीलंकाविरुद्ध केनले २४२ रन बनाउँदै दोहोरो शतक बनाएका थिए । त्यस्तै, २०१९ मा बंगलादेशविरुद्ध २०० रन बनाउँदै अर्को दोहोरो शतक बनाएका थिए ।

Back to top button