राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य

राष्ट्रिय सभाको सातौं अधिवेशन अन्त्य भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको सरकारले त्यसको १२ दिनपछि पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाएको थियो । अधिवेशन सुरु भएको १० दिनमै अन्त्य भएको छ ।

बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था संविधानमा छ । तर, राष्ट्रिय सभा विघटन हुनै नसक्ने परिकल्पना संविधानले गरेको छ । संविधानको धारा ८६ मा ५९ सदस्य रहेको राष्ट्रिय सभा एक स्थायी सदन हुने उल्लेख छ । संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने उल्लेख छ । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्न्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

गत असार १८ गते वर्षे अधिवेशन अन्त्य भएको थियो । ठीक ६ महिना पुगेको दिन राष्ट्रिय सभाको अधिवेशन सुरु भएको थियो । यो संवैधानिक संकट टार्न सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको बैठक बोलाएकी थिइन् । यो बाध्यात्मक थियो । यहि बाध्यात्मक संवैधानिक व्यवस्थाका कारण बोलाइएको राष्ट्रिय सभाको बैठक जम्मा १० दिनमा चार वटा बैठक बसेर सकिएको छ ।

Back to top button