प्रतिनिधि सभा विघटन मुद्दाको टुंगो संवैधानिक इजलासबाटै

सर्वोच्च अदालतमा बहस भइरहेको प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ संवैधानिक इजलसमै हुने भएको छ । मुद्दाको सुनुवाइ संवैधानिक इजलसमा गर्ने कि वृहत् पूर्ण इजालसमा लैजाने भन्‍ने प्रश्नमा शुक्रबार भएको बहसपछि सर्वोच्च अदालतले संवैधानिक इजालसबाटै यसको टुंगो लगाउने निर्णय गरेको हो ।

वृहत् पूर्ण इजालस गठन गर्नुपर्ने मागलाई संवैधानिक इजालसले अस्वीकार गरेको छ । दुवै पक्षको बहस र एमिकस क्युरीको सुझाव सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजालसले यस्तो निर्णय सुनाएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरू सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।

प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ संवैधानिक इजलसमा गर्ने कि वृहत् पूर्ण इजालसमा लैजाने भन्‍ने विवादमा अल्झिएको थियो । मुद्दाको क्षेत्राधिकारसम्बन्धी प्रश्‍नमा प्रधानन्यायाधीश राणासहितको संवैधानिक इजलासमा शुक्रबार पनि बहस भएको थियो । सरकारी पक्षबाट बहस भएपछि एमिकस क्युरीमा रहेका वकिलहरू वहसमा सहभागी भएका थिए ।

रिट निवेदक पक्षका वकिलहरूले गम्भीर प्रकृतिको संवैधानिक व्याख्याको प्रश्‍न भएकोले वृहत् पूर्ण इजालसको माग राखेका छन् भने सरकारी पक्षले संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने जिकिर राखेको छ ।

सरकारका तर्फबाट बहसमा सहभागी बिष्णु भट्टराई, रमेश बडाल, विजय मिश्र, सुरेन्द्र भण्डारीलगायत अधिवक्ताहरुले संसद विघटन संवैधानिक इजलासमै क्षेत्राधिकारको विषय रहेको उल्लेख गरेका थिए । पाँच सदस्यीय संवैधानिक इजलासलाई संविधानको व्याख्या गर्ने अधिकार संविधानले नै तोकिसकेकाले अतिरिक्त इजलास गठन गर्नु संविधान विपरीत हुने उनीहरूको तर्क छ ।

 

Back to top button