अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनः सपथ लगतै १५ कार्यकारी आदेश

एजेन्सीः  अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले पद सम्हालेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रबर्ट्ससँग पद तथा गोपनीयताको सपथ लिएसँगै उनी मोटरकेडसहित ह्वाइटहाउस प्रवेश गरेका हुन् ।

सपथग्रहणपछि विशेष सम्बोधन गर्दै बाइडेनले आफू सबै अमेरिकीहरुको राष्ट्रपति हुने प्रतिबद्धता जनाएका छन् । उनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो,’ उनले भने ।

बाइडेनले कोरोना महामारीमा ज्यान गुमाएकाहरुको श्रद्धाञ्जलीमा मौन धारणसमेत गरेका थिए । त्यस्तै कमला ह्यारिसले उपराष्ट्रपतिको सपथ लिएकी छन् ।

आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिँदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राखेका थिए । पद सम्हालेपछि बाइडेनले १५ वटा कार्यकारी आदेश र दुई वटा निर्देशनमा हस्ताक्षर गरेका छन् । उनले कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायतालगायतका कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

Back to top button