आर्मीलाई प्रधानमन्त्री कप उपाधी

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३३ रनले हराउँदै आर्मी च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ पुरस्कार हात पार्यो । उपविजेता एपीएफले पाँच लाखमा पाएको छ ।

आर्मीले दिएको दुई सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४१.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७८ रनमा समेटिएको थियो । एपीएफका लागि आरिफ सेखले सर्वाधिक ६१ रन बनाए । सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९, सुवास खकुरेलले १४ र भुवन कार्कीले नौ रन बनाए । आशा गरिएका कप्तान शरद भेषावकर शून्य रनमा आउट भएपछि एपीएफ कमजोर बनेको थियो । आर्मीका जितेन्द्र मुखिया, विक्रम सोब र शाहब आलमले समान तीन/तीन विकेट लिए । सुशन भारीले एक विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ११ रन बनाएको थियो । आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए । राजेश पुलामीले २८, शाहब आलमले अविजित २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेलले समान १३/१३ तथा अनिल मण्डल र विक्रम सोबले समान ११/११ रन बनाए । एपीएफका अविनाश बोहराले चार विकेट लिए। किशोर महतोले दुई तथा कमल ऐरी, शरद भेषावकर र भुवन कार्कीले एक/एक विकेट लिएका थिए । फाइनल खेलको प्लेयर अफ दी म्याचको पुरस्कार आर्मीका जितेन्द्र मुखिया घोषित भए ।

प्रतियोगिताको प्लेयर अफ दी सिरिज एपीएफका कमलसिंह ऐरी घोषित भए। यस्तै बागमती प्रदेशका पृथु बाँस्कोटा बेस्ट ब्याट्सम्यान र आर्मीका साहब आलम उत्कृष्ट बलर घोषित भए । प्लेयर अफ दी सिरिजले ५० हजार र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

Back to top button