संसद विघटनविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शनः पुनःस्थापना हुन्छः पौडेल

संसद विघटन विरुद्ध नेपाली कांग्रेसले सोमबार पनि देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गरेको हो । पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्‍त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ ।

नेपाली कांग्रेसको पुस १३ गते बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले अहिलेको राजनीतिक संक्रमणको सबैभन्दा उत्तम समाधान संसद पुनर्स्थापना भएको निश्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो । तेस्रो चरणको आन्दोलनअन्तर्गत माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाहरूले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा मुलुकभर प्रदर्शन गर्ने कार्यक्रम छ ।

कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ । यसैबीच वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । ‘सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक सङ्घर्षमा पुगेको छैन, हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्’, दमौलीमा आयोजित विरोध कार्यक्रममा बोल्दै पौडेलले भनेका छन् ।

 

Back to top button