दाहाल-नेपाल समुह, बन्द हड्ताल गर्दै सडकमा

नेकपा दाहाल नेपाल समुहले गरेको नेपाल बन्दको आमसिक प्रभाव परेको छ । बन्द गराउन काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा दाहाल नेपाल समुहका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । जनजीवन प्रभावित गर्न खोज्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दर्जनौ पक्राउ परेका छन् । त्यस्तै बाहिरी जिल्लामा पनि नेता कार्यकर्ता धमाधम पक्राउ परेको खबर प्राप्त भएको छ ।  महिना दिनदेखि निरन्तरजसो चलिरहेको सत्तापक्ष र विपक्षी दलको सडक संघर्षबाट जनता आजित भएका बेला प्रतिनिधिसभा  विघटनको विरुद्ध दाहाल नेपाल समुह नेपाल बन्द गर्न तम्सिएको हो ।

निमुखा जनतालाई देखाएर राजनीति गरेको दाबी गर्ने दलले सत्ताप्राप्तिका लागि आन्दोलन गर्दा तिनै जनताको व्यथा चटक्कै बिर्सने स्वार्थी प्रवृत्ति त्याग्नुपर्छ । एक पक्षको अधिकार प्राप्तिका लागि  अर्काको अधिकारमाथि हस्तक्षेप गर्नुहुन्न मन्न मानव अधिकारको सिद्धान्त दलहरुले भुलेका छन् ।

संसद् विघटनपछि दुई कित्तामा उभिएको नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच सडकमा सभा, जुलुस, धर्नाको जुहारी चलिरहेको छ । एउटा पक्षले आन्दोलन गरेपछि अर्को पक्षले त्योभन्दा ठूलो शक्ति प्रदर्शन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । गुटगतरूपमा विभाजित कार्यकर्ताबाट हुने टुक्रे आन्दोलनको हिसाब नै छैन।  जसले सधैंजसो सडक अशान्त पारेको छ। यात्रु घन्टौंसम्म जाममा बस्नुपर्दा तोकिएको समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।

सरकारको गलत कामको विरोध गर्ने र जनजीविकाका पक्षमा शान्तिपूर्ण सडक प्रदर्शन गर्ने अधिकार लोकतन्त्रले दिएको छ । तर यतिखेर सडकमा पोखिएको असन्तुष्टिले दैनिक गुजारा गरेर जीविका धानिरहेका बहुसंख्यक नागरिकका समस्यालाई छोएको छैन । अकासिएको बजार मूल्य नियन्त्रण, शैक्षिक तथा प्रशासनिक सुधार, बेरोजगारी व्यवस्थापन, न्यायको पर्खाइमा वर्षोंदेखि भौंतारिरहेका नागरिकको मर्कामा मलहम लगाउनेलगायतका विषयलाई चटक्कै बिर्सेर राजनीतिक मिसन पूरा गर्ने नाममा गरिने आन्दोलनको कुनै तुक छैन । सयौंको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रमा बन्दलाई विरोधको औजार ठान्नु हुँदैन ।

Back to top button