अख्तियार झन सशक्तः सूक्ष्म निगरानी बढाउँदै प्रमुख आयुक्तः राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले सार्वजनिक सेवाप्रवाहमा हुने अनियमितता, घुसखोरी, बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाउने बताएका छन् । प्रमुख आयुक्त प्रेमकुमार राईले गलत कार्य एवं अनियमिततालाई कारबाहीको दायरामा लैजाने विषयलाई उच्च प्राथमिकता दिने बताए ।

प्रमुख आयुक्त राईले अनियमितता, घुसखोरी नियन्त्रण गर्न द्रुत निगरानी टोली, सूक्ष्म अनुसन्धान टोली खटाइने जानकारी दिए । ‘सेवाप्रवाह गर्ने निकायका अधिकारीलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउन आयोगले आफ्नो तर्फबाट पहल गर्नेछ’, प्रमुख आयुक्त राईले भने ।
राईले सार्वजनिक सम्पत्तिको अतिक्रमण, दोहन अत्यधिक बढेको उल्लेख गर्दै आयोगले विशेष प्राथमिकताका साथ अनुसन्धान गरिने बताए । सार्वजनिक सम्पत्तिका रूपमा रहेको भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको उनको भनाइ थियो ।

यसै बिच राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन् । ‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगविरुद्ध परेका उजुरीको छानबिन र अभियोजनमा आयोगले विगतमा झैं निष्पक्षता, तटस्थता र निर्भीकतालाई मूलमन्त्र मानी कार्य गर्ने विश्वास गरेकी हुन् । आयोगको ३० औं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उनले ‘राज्यलाई सुशासन र समृद्धिको मार्गमा सफलतापूर्वक अघि बढ्न महत्वपूर्ण योगदान दिने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरूलाई त्रासबाट मुक्त भएर काम गर्न आग्रह गरेका छन् । ‘धम्की, त्रासमुक्त भई निर्भीक र निष्पक्ष रूपमा काम गर्नुहोस्। सरकारका तर्फबाट कुनै हस्तक्षेप हुने छैन’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले असफल नहुने गरी मुद्दा दायर गर्न आयोगका पदाधिकारीलाई सुझावसमेत दिए । ‘फरक पर्ने गरी मुद्दा दायर गर्नु हुँदैन। निर्दोष मान्छेमाथि आरोप लाग्ने लगाउने गर्नु हुँदैन । तथ्य, प्रमाण पुगेपछि मात्रै मुद्दा चलाउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘कुनै पनि भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति पनि दिन हुँदैन ।’
प्रधानमन्त्रीले भ्रष्टाचारलाई ‘साझा शत्रु’को संज्ञा दिँदै राज्यले शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे । उनले भ्रष्टाचार गरी कारबाही गर्नुभन्दा भ्रष्टाचार नै हुन नदिनेतर्फ काम गर्नुपर्नेमा जोड दिए ।

उनले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गराउन लोकतान्त्रिक, सभ्य, सुशासनयुक्त र सामाजिक न्यायसहितको समाज निर्माण गर्न आवश्यक रहेको बताए । राज्यका सबै निकाय उत्तिकै जिम्मेवार भई अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उनले आयोगलाई स्वतन्त्र र निष्पक्ष भई काम गर्ने गरी भ्रष्टाचारविरुद्धको अभियानमा थप सफलता मिलोस् भनी शुभकामना दिएका थिए ।

 

Back to top button