राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेको ६ घण्टा पछि झाँक्रीको रिहाइ

नेकपा नेता रामकुमारी झाक्री साढे ६ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटिन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गोरखामा अभिव्यक्ति दिएको आरोपमा बिहीबार दिउँसो १ बजे झाँक्री आफ्नै निवास शंखमूलबाट पक्राउ परेकी थिइन्।

अनमेसंघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीमाथि कारबाहीको माग गरेको थियो । उक्त ज्ञापनपत्रसहित गृहले प्रहरीलाई ‘कानुन बमोजिम कारबाही गर्नू’ भनी लेखी पठाएको थियो । गृहको निर्देशनअनुसार नै बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाले झाँक्रीलाई पक्राउ गरेको हो ।

गृहको निर्देशनपछि झाँक्रीको निगरानीका लागि बुधबार रातिबाटै प्रहरी परिचालन भएको थियो । झाँक्रीको निगरानी नभई उनी उपत्यका बाहिर गएको अवस्थामा प्रहरीले गृहलाई दिने जवाफ थिएन । जसकारण रातभर निगरानी गरी पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

बिहीबार बिहान महाशाखाका एसएसपी दीपक थापाले झाँक्रीलाई फोन गरेर प्रहरी कार्यालयमा उपस्थित हुन भनेका थिए । तर झाँक्री उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । त्यसविरुद्ध नेकपाका कार्यकर्ताले अवरोध गरेपछि झाँक्री पक्राउ गर्न केही समय ढिला भएको थियो । दिउँसो प्रहरीले घरबाटै उनलाई पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको थियो ।

महाशाखामा करिब ६ घण्टा राखिएपछि उनी रिहा भइन् । उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत पुगेका थिए । झाँक्रीलाई लिखित सोधपुछ गरेर छाडिएको महाशाखाका एसएसपी थापाले बताए ।

Back to top button