प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्‍वासको प्रस्ताव पेश हुँदै

प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरूद्ध अविश्वसको प्रस्ताव पेश हुनेछ ।

प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीमा नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेश हुने उल्लेख छ ।

यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका छन् । तर सभामुख भण्डारीले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका छन् ।

तर, सत्तापक्षको उपस्थिति भने प्रदेशसभामा अहिलेसम्म भएको छैन । सचिवालयले जारी गरेको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने उल्लेख छ । सत्तापक्षका सांसदहरु मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् ।

हिउँदे अधिवेशन सुरु भएर दुईपटक बसेर सत्ता पक्षकै अवरोधका कारण छोटो समयमा नै सकिएको बैठक आज तेस्रो पटक बोलाइएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि सोही विवादले सदन अवरुद्ध सुरु भएको हो ।

यसअघि पनि बोलाइएको बैठकमा अविश्वासको प्रस्ताव सदनमा पेश गर्ने बताइएको भए पनि सत्तापक्षले अवरोध गर्दा प्रस्ताव समेत पेश हुन पाएको छैन। सदनमा मुख्यमन्त्रीले निलम्बन गरेका सांसद उपस्थित हुन नहुने सत्तापक्षको मागका कारण बैठक स्थगित हुँदै आएको छ।

 

Back to top button