नेकपाको दाहाल-नेपाल खेमाले पदको बाडफाड

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा प्रधानमन्त्री ओली दाहाल-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन् ।

व्यवहारमा दुई समूह देखिए पनि कानुनत: नेकपा फुटिसकेको छैन । विभाजित नेकपाले आ-आफ्नो संगठनलाई पूर्णता दिने काम गरिरहेका छन् ।

यसैबीच नेकपामा दाहाल-नेपाल पक्षले पार्टी तथा भातृ र जनवर्गीय संगठनहरूमा बराबर हैसियत हुने गरी पूर्णता दिन लागेका छन् ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीच एकता हुँदा तत्कालीन एमालेले माओवादीलाई ४० प्रतिशत हिस्सा दिएर संगठनलाई पूर्णता दिएको थियो ।

तर यसपटक प्रचण्ड-नेपाल पक्षले ५०/५० प्रतिशत हुने गरी व्यवस्था गर्ने गरी मापदण्ड बनेको स्रोतको दाबी छ ।

साविक जुन पक्षबाट संगठन प्रमुख रिक्त भएका हुन् त्यही पक्षबाट पूर्ति गर्ने र पदाधिकारी राख्दा वरिष्ठता र क्षमतालाई हेर्ने पनि मापदण्डमा उल्लेख छ ।

पार्टी र जनवर्गीय संगठनहरूमा पदाधिकारी तथा सदस्य राख्दा ५०/५० प्रतिशत हुने गरी व्यवस्था गर्न उनीहरू सहमत देखिएका छन् । उनीहरूले विभिन्न बुँदा समेटिएको ९ बुँदे मापदण्ड तयार पारेका छन् ।

Back to top button