नेकपा नामको विवादमा फैसला आउने मिति सर्वोच्चमा पर सर्यो

सर्वोच्च अदालत नेकपा नामको पार्टी विवादमा फैसला आज आउने मिति पर सरेको छ ।  पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत बन्द रहेने निर्णय गरेका कारण नेकपा नामको पार्टी विवादको टुंगो आज नलाग्ने भएको हो ।

यसअघि सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए ।

Back to top button