प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने दाहाल-नेपाल खेमाको तयारी

नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल खेमाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । ओलीले आइतबारको प्रतिनिधि सभा बैठकबाट राजीनामा नदिए कांग्रेससँग समझदारी गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरिएको हो ।

अविश्वास प्रस्तावका लागि दाहाल-माधव खेमाले अग्रसरता लिएको भए पनि प्रधानमन्त्रीमा भने कांग्रेस सभापति सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिने नेताहरुको भनाइ छ । यसअघि प्रतिनिधि सभा विघटन गरिएकै दिन अर्थात् पुस ५ गते दाहाल-माधव पक्षले संसद् सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधि सभा पुनःस्थापित भएपछिको नयाँ परिस्थितिमा भने दाहाल-माधव पक्षले देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै आएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदिएपछि ओलीले राजीनामा दिने अपेक्षा गरिएको थियो । तर उनले राजीनामा नदिने बरु हटाएर देखाउन चुनौती दिने गरेका छन् ।  त्यसैले अविश्वासको प्रस्ताव पारित गरेर उनलाई थप नैतिक संकट सिर्जना गर्ने प्रयासमा नेकपाको एक पक्ष र कांग्रेसबीच छलफल अघि बढेको हो ।

ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन दाहाल–माधव पक्ष र कांग्रेस सभापति देउवा निकट नेताहरु सक्रिय भएका छन् । शनिबार दुवै पक्षका नेताहरुले भेटघाट गरेर प्रारम्भिक सहमति समेत गरेको बताइएको छ । तर औपचारिक सहमति भने नभएको माधव नेपाल निकट एक प्रभावशाली नेताले बताए । उनका अनुसार, शनिबार राति र आइतबार प्रतिनिधि सभा बैठकअघिसम्म दुवै पक्षबीच मौखिक वा लिखित रुपमै थप सहमति भई अविश्वास प्रस्ताव अघि बढ्न सक्छ ।

 

Back to top button