नेपाल समूह एमाले फर्कने, दाहालले माओवादी केन्द्र ब्यूँताउने

सर्वोच्च अदालतको फैसलापछि दाहाल र माधव पक्ष आ-आफ्नै दलमा फर्किने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको दाहाल- माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो।  अब माधव नेपाल र झलनाथ खनाललगायतका तत्कालीन एमालेका नेताहरू एमालेमै फर्किने भएका छन् भने दाहालहरू पेरिसडाँडामै रहने भएका छन् । आ-आफ्नो घर फर्किने भन्दै उनीहरू पेरिसडाँडाको बैठकबाट बिदा भएका थिए ।

सर्वोच्च अदालतले नेकपा आधिकारिकता विवादको मुद्दामा आइतबार फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिदै एमाले र माओवादी केन्द्र व्युँताउने फैसला गरेको थियो । त्यो फैसलापछि अलगअलग हुने निर्णय गरेका हुन् ।

पेरिसडाँडामा बैठकपछि सञ्चारकर्मीसँग वरिष्ठ नेता झलनाथ खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग हिँड्ने प्रतिक्रिया दिएका छन् । उनले सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्नुका साथै पार्टीभित्र संघर्ष गर्ने दाबी गरे ।

दाहाल–माधव समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले अदालतको फैसला रिट निवेदन भन्दा बाहिर गएर फैसला गरेको प्रतिक्रिया दिए । उनले नयाँ ढंगले पार्टी एकीकरणको पहल हुने र सर्वोच्चको फैसला कार्यान्वयनको प्रक्रिया अन्तरगत माओवादी केन्द्र र एमाले अलग भएको बताए।

सर्वोच्च अदालतको आदेशपछि ओली निकटका नेताहरुले फैसलाको स्वागत गरेपछि दाहाल-माधव पक्ष संकटमा परेको थियो । बैठकमा नेताहरुले पार्टी एकतालाई नयाँ शिराबाट छलफल सुरू गर्नुपर्ने धारणा राखेका छन् ।

यस अगाडि स्थायी कमिटी बैठकबाट बाहिरिदै गर्दा तत्कालीन एमाले एवम् दाहाल–माधव समूहका नेता रघुजी पन्तले एकतालाई जोगाउन अध्यक्ष कमरेड दाहाल र ओलीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्ने प्रतिक्रिया दिएका थिए । उनले बैठकमा एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गर्नुपर्ने धारणा राखेको बताए ।

दाहाल नेपाल समूहका केन्द्रिय सदस्य एवम् तत्कालीन एमाले नेता विष्णु रिजालले एमाले केपी ओली, माधव नेपाल दुवैको भएकाले पार्टी ब्यूँतिएपछि हामी सबै एमाले भएको बताएका छन् । ट्वीटमा उनले भनेका छन्,‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन । एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ ।’

दाहाल-माधव पक्षको स्थायी कमिटी बैठक अगाडि तत्कालीन एमालेको माधव पक्षको मात्र बैठक बसेको थियो । उनीहरु एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्दै पुन: पार्टी एकताको लागि पहल गर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले बताएका थिए । छलफलमा सहभागी नेताहरुले एकतालाई जोगाएर जान सकिने सम्भावनाको खोजी गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।

दाहालको नेतृत्वमा नेकपा माओवादी केन्द्र एक्लै रहने छ भने झलनाथ-माधव समूह एमालेभित्र ओलीसँग अन्तर्संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । संसदमा तत्लकालिन एमालेका १२०, कांग्रेसका ६३, माओवादी केन्द्रका ५३, जसपाका ३४ सांसद छन् । तीनजना स्वतन्‍त्र हैसियतमा छन् । १२० मध्ये चालिस जति सांसदहरू प्रचण्ड नेपालतिर थिए । अब उनीहरु एमालेमै फर्केर संघर्ष थाल्‍ने बताएका छन्। नेता नेपालले एमाले निर्माणमा आफ्नो महत्वपूर्ण योगदान भएकोले एमाले छोड्न नसक्‍ने र त्यही फर्केर निर्णायक लडाइ लड्ने बताएका छन् । माधव पक्ष फर्किने भएपछि ओली एमालेभित्रै पनि थप दबाबमा पर्ने देखिन्छ ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ । यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ ।

 

Back to top button