माधव-झलनाथ समूह एमालेमै रहेर ओली विरूद्ध संघर्ष गर्ने

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव-झलनाथ पक्ष एमालेमै फर्किने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधवकुमार नेपाल-झलनाथ खनाल समूह पुष्पकमल दाहाल समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ । यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ ।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ ।

अदालतले पुरानै पार्टी ब्यूँताएपछि नेपाल समूह एमालेमा फर्कने निष्कर्षमा पुगेको हो । माधव-दाहाल समूहका केन्द्रिय सदस्य एवम् तत्कालीन एमाले नेता विष्णु रिजालले एमाले केपी ओली, माधव नेपाल दुवैको भएकाले पार्टी ब्यूँतिएपछि हामी सबै एमाले भएको बताएका छन् । ट्वीटमा उनले भनेका छन्,‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन । एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो । पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ ।’

 

Back to top button