काठमाडौंको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा

कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाडौंको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा काठमाडौंकै नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ दशमलव ५ ओभर सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए ।

१ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित रहदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए ।

योसंगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङगो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यसअघि मंगलबार भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले पराजित गर्दै प्रतियोगितामा दोश्रो जित निकालेको छ । शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो ।

स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान ४/४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए । त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

 

Back to top button