एक महिनामै अख्तियारको प्रभाव बढ्यो, १३६ विरुद्ध घोटाला मुद्दाः ठेकेदार भेटवाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड र तत्कालीन एपेक्स डेमलपमेन्ट बैंक (हाल नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा मर्ज भएको)मा भएको कर्जा प्रवाह घोटालामा १३६ प्रतिवादी बनाउँदै ११ थान मुद्दा दायर गरेको छ । सबैविरुद्ध कुल ३५ करोडभन्दा बढी बिगो भराउन मागदाबी समेत गरिएको छ।

विशेष अदालतमा दायर मुद्दामा नागरिक लगानी कोषको तर्फबाट सञ्चालक नियुक्त भएर गएका कोषका नवौँ तहका कर्मचारी छविरमण अधिकारीसहित दर्जन बढी व्यक्तिले जथाभावी कर्जा प्रवाह गरेर सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याएको उल्लेख छ ।

आयोगका अनुसार अधिकारीसमेत ११ जनाविरुद्ध २ करोड १ लाख ९४ हजार ५ सय ५६ रुपैयाँ बिगो दाबी गरी सार्वजनिक सम्पत्ति हानि गरेको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । आयोगले दायर गरेको ११ वटामध्ये दोस्रो मुद्दामा अधिकारीसहित १० जनाविरुद्ध ३ करोड ८७ लाख ९४ हजार ७ सय २४ रुपैयाँ बिगो भराउन माग गरिएको छ ।

तेस्रो मुद्दामा अधिकारीसमेत १३ जनाविरुद्ध २ करोड १५ लाख २५ हजार ५ सय ६४ रुपैयाँ, चौथो मुद्दामा अधिकारीसमेत १२ जनाविरुद्ध ४ करोड ६३ लाख ६८ हजार २ सय ५४ रुपैयाँ, पाँचौँ मुद्दामा अधिकारी समेत १२ जनाविरुद्ध ४ करोड ३५ लाख ९८ हजार ५ सय ६६ रुपैयाँ, छैटौँ मुद्दामा अधिकारीसहित ११ जनाविरुद्ध २ करोड ९७ लाख ९१ हजार ८ सय ९७ रुपैयाँ, सातौँमा अधिकारीसमेत १७ जनाविरुद्ध १ करोड ७५ लाख ६७ हजार ८ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्यस्तै आठौँ मुद्दामा अधिकारीसमेत १५ जनाविरुद्ध ११ करोड ११ लाख ५८ हजार ७ सय ७१ रुपैयाँ, नवौँमा अधिकारीसमेत १४ विरुद्ध १ करोड ४५ लाख १ हजार ८३ रुपैयाँ, दशौँमा अधिकारीसमेत १० जनाविरुद्ध ५ करोड ८७ लाख ३२ हजार ९ सय १२ रुपैयाँ र ११औँ मुद्दामा अधिकारीसमेत ११ जनाविरुद्ध ११ लाख ५४ हजार ७ सय ८ रुपैयाँ सार्वजनिक हानि नोक्सानी गरेको भन्दै बिगो भराउन दाबी गरिएको छ ।

आयोगका प्रवक्ता नारायण रिसालका अनुसार अधिकारी उक्त बैंकमा पदबहाल रहँदा कर्जा प्रवाहमा बैंकिङ प्रक्रियाविरुद्ध गएर काम गरेकाले मुद्दा दायर गरिएको हो ।

आयोगले गरेको लामो अनुसन्धानका क्रममा साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि का संचालक छविरमण अधिकारी, बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरेको खुलेकोले उनीहरुविरुद्ध सोहीअनुसारको बिगो दाबी गरी मुद्दा दायर गरिएको हो ।

साथै आयोगले गणपति कन्सल्टेन्सी प्रालिका इन्जिनियर सुरज श्रेष्ठले धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा देखाई गलत गरी प्रतिवेदन दिएको पुष्टि हुन आएको छ । उनीविरुद्ध पनि कारबाही मागदाबी गरिएको छ ।

यसै बीच

काठमाडौं भ्यू टावर बनाउने ठेक्का पाएको ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई पक्राउ गरेको हो । पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने ठेक्का पाएको भेटवाल विरुद्ध राजश्व छली तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणको ११ मुद्दा थान उजुरी परेको छ ।

सोही प्रकरणमा अख्तियारले भेटवाललाई पक्राउ गरेको हो । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियारले जनाएको छ ।

भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दा समेत दर्ता भएको थियो । तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणमा समेत भेटवाल जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यो घटनाको अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको छ ।अख्तियार प्रमुखको जिम्मेवारी प्रेमकुमार राईले सम्हालेको एक महिनैमै  अख्तियारले आफ्नो अनुसन्धानलाई गति दिएको हो ।

Back to top button