नेपाल समुहले समानान्तर कमिटी बनाउनेः अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन एमालेको निर्देशन

माधवकुमार नेपाल समूहले एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

बानेश्वरमा बसेको बैठकले समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय गरेको हो । ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ ।

समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ ।

यसै बीच नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन आग्रह गरेको छ । नेकपा एमालेका सांसदसमेत सहभागी भई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

शुक्रबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका हुन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय भन्दै विज्ञप्तिमा पार्टी निर्णय अनुरुप चल्न सांसदहरुलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा पार्टीको संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यलाई अनुशासित र एकतावद्ध भई परिचालित गर्न निर्देशन दिइएको छ ।

Back to top button