प्रतिनिधिसभा फेरि विघटन गर्ने प्रधानमन्त्री ओलीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद् विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार दिउँसो बोलाएको पूर्वप्रधानमन्त्रीहरूसहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुन:स्थापनापछि अस्थिरता आएको संकेत गर्दै पुनः विघटन गरी चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीलाई संसद् विघटन गर्न पाउने अधिकार हुने दाबी गरेका थिए। ‘अझै पनि संसद् र सरकारले राम्रोसँग काम गर्न पाउने अवस्था छैन । संसद विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीको हो । फेरि संसद् विघटन गरेर चुनावमा जाऔँ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती नेताले नेपाल लाइभसँग भने ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच नोकझोक चलेको थियो।

प्रधानमन्त्री ओलीले संसारका सबै सरकार प्रमुखले संसद विघटन गर्न पाउने र सोही अनुसार आफूले प्रतिनिधि सभा विघटन गरेको बताएपछि प्रचण्डले त्यसको प्रतिवाद गरेका थिए ।

ओलीको कुरालाई दुई मिनेटमै काटेका दाहालको भनाइ उदृत गर्दै बैठकमा सहभागी अर्का एक नेताले भने, ‘यस्ता कुरा यहाँ नगर्नुस् । हामी यस्ता कुरा सुन्न आएका होइनौं । राष्ट्रपतिज्यूले किन बोलाउनुभएको हो, त्यता लागौं ।’

Back to top button