नेपाल सहित रावल, पाण्डे र भुसाललाई एमालेले सोध्यो स्पष्टीकरण

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

यसरी स्पष्टीकरण सोधिने नेताहरुमा नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहेका छन् । चारजना नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

नेकपा एमालेलाई कमजोर गर्ने, नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने, विचार र सही नेतृत्वलाई विस्थापित गर्ने निक्कै धेरै प्रयत्नहरु भए। तर, आम जनताको साथ, नेताहरुको दृढता र कार्यकर्ताको सक्रियताको बलमा हामीले ति सबै षड्यन्त्रलाई परास्त गर्दै आन्दोलनलाई पुनर्जीवित गरेका छौँ। अब आन्दोलन नयाँ ढंगले अगाडि बढ्छ’, प्रवक्ता ज्ञवालीले भने, ‘यसो गर्नेक्रममा जो–जो नेताहरु यो आन्दोलनलाई भित्रैदेखि कमजोर गर्न गुटगत क्रियाकलापमा लाग्नुभयो, विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेतृत्व विस्थापित गर्ने काममा लाग्नुभयो, आन्दोलनलाई जनताका माझमा बद्नाम गर्ने, आन्दोलनप्रति अनास्था र वितृष्णा गर्ने काममा लाग्नुभयो । त्यो विषयलाई पार्टीले अत्यान्त गम्भीरतापूर्वक लिएको छ ।’

ज्ञवालीले त्यो गतिविधिलाई आत्मसमीक्षा गरेर आउनेलाई पार्टीमा स्वागत गर्ने बताएका छन् । उनले चार नेतालाई भने स्पष्टीकरण मात्र सोधिएको जानकारी दिए ।  पहिलो चरणमा स्पष्टीकरण सोधिएको र त्यसको जवाफ नआए त्यसपछि अरु विषयमा निर्णय हुने उनको भनाइ छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादमा फैसला नगर्दासम्मको अवस्थालाई फरक ढंगले हेरिएको र त्यसपछिको अवस्थालाई अलग ढंगले हेरिएको ज्ञवालीको भनाइ छ । विशेष गरी नेता नेपाल, रावल, पाण्डे र भुसाललाई एमालेको ब्यानरमा राष्ट्रिय कार्यकर्ता भेला पार्टी निर्देशन विपरित गरेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

फागुन २३ पछिका गुटगत गतिविधिलाई सम्य मान्न नसकिने उनले प्रष्ट पारे । गुटगत भेलामा मुख्यतया जिम्मेवार रहेका चार नेतालाई स्पष्टीकरण सोधिएको उनको दाबी छ ।

Back to top button