एमालेमा ओली थप शक्तिसाली: समानुपातिक सांसद राख्न र हटाउन सक्ने अधिकार

नेकपा (एमाले)ले समानुपातिक सांसद राख्न र हटाउने सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो ।

बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा भएको छलफलपछि अध्यक्ष ओलीलाई समानुपातिक सांसद राख्ने र हटाउने अधिकार दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । त्यसैगरी बैठकले एमाले संसदीय दलको विधान अनुमोदन गरेको छ । सँगै बैठकले महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ । हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक समितिमा परिणत गरेको हो ।

एमालेले २०७८ मंसिर ३ देखि ६ गतेसम्म १० औं महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको छ । बैठकले पार्टीमा कार्य विभाजन, स्थायी कमिटी पुनर्गठन, जनसंगठनको जिम्मेवारी हेरफेर लगायत निर्णयसमेत गरेको छ । पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्य भने सहभागी भएनन् ।

Back to top button