बीमा विधेयकमाथि अर्थ समितिमा छलफल

बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याइ बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि छलफल भइरहेको छ ।

संसद् विघटन बदरपछि बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि अर्थ समितिमा पुनः छलफल प्रारम्भ भएको हो ।

समितिका सभापति कृष्णप्रसाद दाहालका अध्यक्षतामा आज भएको बैठकमा विधेयकमाथि दफाबारे छलफल गर्दै अर्थ मन्त्रालय र बीमा समितिका पदाधिकारीले बीमा व्यवसायको स्वच्छ प्रतिस्पर्धा तथा त्यसको प्रभावकारी नियमन सम्बन्धमा सुझाव दिएका छन् ।

समितिका सदस्यको जिज्ञासा, प्रचलित कानून, ऐन, नियम तथा बीमासम्बन्धी प्राविधिक पक्षबारे मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी र बीमा समितिका अधिकारीले जानकारी दिए ।

बैठकमा बीमा ऐन २०७५, नेपाल बीमा प्राधिकरण गठन तथा त्यसका काम, कर्तव्य र अधिकार, प्राधिकरण सञ्चालक समिति, अध्यक्ष वा सदस्यको नियुक्ति, उनीहरूको योग्यता, पदावधि, काम, कर्तव्य र अधिकार, पदाधिकारीको स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज, कर्मचारीसम्बन्धी व्यवस्था, प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षणलगायत विषयमा दफाबारे छलफल भएको थियो ।

 

Back to top button