नेपाल र रावललाई ६ महिना साधारण सदस्यबाट निलम्बित गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टी हित र विधान विपरीत काम गरेको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ ।

पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्बन गरेको जानकारी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सोमबार दुवै नेतालाई दिएका हुन् ।

निलम्बन गरिएको निर्णयसहित नेपाल र रावललाई पठाएको कारबाही पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीको हितमा लाग्‍न निर्देशन दिइएको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।’

माधवकुमार नेपालमाथिको निलम्बन पत्रमा पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको आरोप लगाइएको छ ।

यसअघि ओलीले सोधेको स्पस्टीकरणमा नेपालले उल्टै ‘तपाईँमाथि कारबाही किन नगर्ने ‘भनेर ओलीलाई नै स्पस्टीकरण सोधेपछि ओली र नेपालबीचको सम्बन्ध थप बिग्रेको हो ।

Back to top button