काठमाडौंमा एमाले नेपाल समूहले बनायो समानान्तर कमिटी

नेकपा (एमाले) माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ । आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर समानान्तर कमिटी घोषणा गरेको हो ।

वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरको संयोजकत्वमा समानान्तर कमिटी बनेको हो ।

एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता खनाल-नेपाल पक्षलाई कारबाही गर्न थालेपछि यो समूहले समानान्तर कमिटी घोषणा गर्न थालेको हो । समानान्तर कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छन् । अध्यक्ष ओली समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई छन् ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष ओलीले गुट भेला मात्र गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको फूर्ति लगाइरहेको भन्दै उनले भने,’ त्यो फूर्तिको काम छैन ।’

‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?, ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्‍याएका हौं,उनले भने,’संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ।’

 

 

Back to top button