माओवादी छाडेका चार सांसदको पद गुम्योः मन्‍त्री पद के हुन्छ ?

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (माओवादी केन्द्र)का चार सांसदको पद खोसिएको जानकारी गराएका छन् । यो सँगै उनीहरुको मन्‍त्री पद पनि खोसिएको छ । माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद् पदसँगै मन्‍त्री पदसमेत गुमेको हो ।

माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । मन्‍त्री रायमाझी, भट्ट र र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिइको स्पष्टीकरण चित्तबुझ्दो नभएको माओवादी केन्द्रले संसद् सचिवालयमा पठाएको पत्रमा उल्लेख छ ।

‘पार्टीले कारवाही गरेको जानकारी सभामुखलाई पत्रमार्फत गरायो भने त्यो सांसद पद जान्छ’, संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्, ‘सांसद् पद गएपछि मन्‍त्री पद रहँदैन ।

माओवादी केन्द्रले दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग्दै मन्त्रिपरिषद्बाट फिर्ता हुन दिएको निर्देशन अस्वीकार गरेको भन्दै कारवाही गरेको जानकारी संसद् सचिवालयलाई गराएको थियो । बिहीबार सोही जानकारी सभामुख सापकोटाले संसद्लाई गराएपछि चारैजना नेताको संसद् पदसँगै मन्‍त्री पदसमेत गुमेको हो ।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए ।बिना सांसद ६ महिनासम्म मन्‍त्री नियुक्त गर्न मिल्ने प्रावधान संविधानमा उल्लेख छ । ६ महिनाका लागि बिना सांसद मन्‍त्री नियुक्त गर्ने हो भने फेरि प्रधानमन्‍त्रीले नयाँ नियुक्ति गर्नुपर्छ ।

यसै बीच संसद र मन्‍त्री पद खोसिए पनि केपी ओलीलाई छोड्न नचाहने नेतालाई पार्टीले मन्‍त्रीमा निरन्तरता दिने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘प्रतिनिधिसभा सदस्य भएको नाताले उहाँहरु मन्‍त्री हुनुभएको हो । सदस्य नभएको स्थितिमा उहाँहरुलाई ६ महिनासम्म मन्‍त्री बनाउन मिल्छ। ६ महिनासम्म सांसद नभए पनि मन्‍त्री बन्न पाउने व्यवस्था छ उहाँहरुले निरन्तरता पाउनुहुन्छ’, भट्टराईले भने, ‘चारैजना नेता सांसद नहुँदा र मन्‍त्री पद खुस्किए पनि एमाले र केपी ओलीसँग बस्न तयार हुनुहुन्छ । हाम्रा लागि यो सुखद हो ।’

 

Back to top button