निर्वाचनमै प्रधानमन्त्री ओलीको जोडः तयार रहेन कार्यकर्तालाई निर्देशन

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सोमबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले  निर्वाचनमा जानुपर्ने परिस्थिति रहेकाले तयारी रहन भनेका छन् । उनले कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसका निम्ति तम्तयार हुनको निम्ति पार्टीपंक्तिलाई निर्देशन दिएका हुन् ।

उनले माधव कुमार नेपाल र पुष्पकमल दाहालको असहयोगका कारण मुलुक निर्वाचनमा जानु पर्ने स्थिति आउने बताए । उनका अनुसार, एमालेलाई देशको नेतृत्वदायी शक्तिको रुपमा विकास गर्न पार्टी निर्माणको शुद्धीकरण तथा सुदृढीकरणको विषयमा जोड दिइएको छ।

सांगठनिक प्रतिवेदन पनि पारित
बैठकले महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन पारित गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रतिवेदनमाथि छलफल भई पारित गरिएको हो। प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनका लागि करिब-करिब ६ महिने कार्ययोजना रहेको ज्ञवालीले बताए । ‘जेठ मसान्तभित्र हामी सबै प्रदेशदेखि लिएर पालिका तहसम्मका सबै कमिटीहरुलाई पुनर्गठन सकिसक्छौं। असारसम्म पार्टी सदस्यता नवीकरण गरिसक्छौं,’ प्रतिवेदनलाई उद्धृत गर्दै ज्ञवालीले भने।

‘माधव नेपाल पक्षको सर्त सही छैन’
माधव नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज हुनुपर्ने र पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने भनी राखेको सर्त सही नभएको ज्ञवालीले बता । ‘ती सर्तहरु सही छैनन् । उहाँहरुले जुन अवस्थामा पार्टीलाई पुर्‍याउनुभएको थियो । हामी जेठ २ मा त हामी फर्केकै छौं ।

जेठ २ मा फर्किनु भनेको साविक नेकपा एमालेका २४१ जना सदस्यहरुको बैठक बस्‍ने भनेको हो । जुन हामीले बैठक बस्यौं । त्यो बैठकले नै माओवादी पृष्ठभूमिबाट आउनुभएका र आन्दोलनको पक्षमा उभिनुभएका २३ जना कमरेडहरुलाई केन्द्रीय कमिटीमा राख्‍ने र विधानका केही बाधा अड्काउलाई फुकाउने काम गरेको हो । यी दुइटा कुराप्रति आपत्ति हुनुपर्ने कारण के ?,’ उनले प्रश्न गरे ।

 

Back to top button