भूकम्पले ढलेको ६ वर्षपछि ठडियो २२ तले धरहरा

२०७२ बैसाल १२ गते गएको भूकम्पले ढलेको धरहरा ठडिएको छ । ढलेको ६ वर्षपछि ठडिएको २२ तले धरहराको शनिबार लोकतन्त्र दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । उनले सुरुमा धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गर्दै सम्उद्घाटन गरेका हुन् ।

६ वर्षमा भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाइएको छ । विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेको बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरेका हुन् ।

२०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ ।

एउटा अर्ध–भूमिगतसहित चार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ । त्यस्तै, फुड कोर्ट’ सहितको युटिलिटी ब्लक पनि बन्नेछ । विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा हुनेछ । पुरानो कर्मचारी संचय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर बन्न लागेको धरहरा क्षेत्रमा भूकम्प संग्रहालय रहनेछ ।

तीन तले भूमिगत पार्किङको सुविधा पनि हुनेछ । जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ। ऐतिहासिक सुन्धराको पनि संरक्षण गरिनेछ। जसमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था हुनेछ । धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिनेछ ।

कोरोना महामारीका कारण भएको लकडाउनले पुनर्निर्माणमा अवरोध उत्पन्न भए पनि सुरक्षाका सबै उपाय अपनाएर पुनर्निर्माणको कामलाई गति दिइयो । धरहराको पुनर्निर्माण सम्पन्न भए पनि धरहरा क्षेत्रका बाँकी संरचनाको निर्माण भने जारी नै छ । बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि जमिनमुनि दुई तलाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भूँइतलासहित २३ तला हुनेछ । यसरी समग्रमा धरहरा २५ तलाको हुनेछ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र २ वटा लिफ्ट हुनेछन् । एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । यसबाट वृद्धवृद्धा एवं अपांगता भएका व्यक्ति धरहरामाथिको पहुँचमा सहजता हुनेछ । साथै फलामको भर्‍याङ पनि रहनेछ । धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ ।

२२ औँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ स्थापना गरिएको छ । धरहरामुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भर्‍याङ’बाट तलमाथि गर्न सकिनेछ ।

धरहराको इतिहास
१८८१ सालमा तत्कालीन जनरल भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । जसको नाम भीमसेन स्तम्भ राखिएको थियो । प्राधिकरणकाअनुसार १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा थापाले सुन्धारामा अर्को ६१.८८ मि. अग्लो ११ तले धरहरा बनाउन लगाएका थिए । १८९० मा भत्किएपछि लगनटोलकोधरहराको जीर्णोद्वार भएन । १९१३ मा बज्र (चट्याङ) परी भत्केपछि १९२३ मा पुनः जीर्णोद्वार भएको थियो ।

१९९० माघ २ को महाभूकम्पमा भत्किएको धरहराको जीर्णोद्वार २ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा गराइएको थियो । सो पुनर्निर्माणपछि धरहरा ११ तलाबाट ९ तल्लामा सीमित भयो ।

२०७२ वैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्णरूपमा क्षति भएको थियो । २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएका थिए । २०७५ असोज १४ गते नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो । २०७४ कार्तिक २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकद्वारा धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरिएको थियो ।

Back to top button