नयाँ सरकार गठन गर्ने सम्भावना क्षीणः थाके दाहाल

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याएर संसद्‍‌मा बहुमत सिद्ध गर्ने सत्ता बाहिरका दलहरुको सम्भावना क्षीण हुँदै गएको छ । सर्वोच्चले संसद पुनस्थापना गरिदिएपछि वैकल्पिक सरकार गठनको लागि निकै सक्रिय र त्यसको सबैभन्दा बढी आवश्यकता बोध गरेको नेकपा माओवादी केन्द्रले नै त्यो सम्भावना देख्न छाडेको छ । बिहीबार हिमालय टेलिभिजनबाट प्रशारित ‘यक्ष प्रश्न’ कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार बन्ने छाँट देखिन छाड्दै गएको बताए । ‘मलाई (कति दिनमा सरकार बन्छ भनेर) दिन भन्न नलगाउनुस् न । यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिँदै छ त । अब जसपाले निर्णय गर्दैन । जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिल्यै होस् भन्ने चाहन्छौं नि । हामीले चाहेर मात्रै त पुग्दैन,’ उनको भनाइ थियो ।

सत्ताको चाबी बोकेको जसपाले स्पष्ट रुपमा निर्णय लिन सकेको छैन । सो दलभित्र दुई धार छन् । ओलीको ‘दीर्घकालीन आलोचक’ बाबुराम भट्टराई र ओलीबाट धोका खाएर सरकार छाड्न बाध्य भएका उपेन्द्र यादव वर्तमान सरकारलाई तत्कालै विस्थापन गरेर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा छन् । पछिल्ला केही दिनका घटनाक्रमले पार्टीभित्र यो पक्ष बलियो रहेको देखिन्छ ।

भट्टराई-यादव पक्षले आन्तरिक रुपमा कांग्रेस र माओवादी केन्द्र अविश्वासको प्रस्तावमार्फत अघि बढेको स्थितिमा आफ्नो पक्षले सघाउने विश्वास दिलाएको छ । सो पक्षमा रहेका १८ जना प्रतिनिधिसभा सदस्यले ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णयसमेत गरेका छन् । जसपा नेता नवराज सुवेदीका अनुसार ३४ सांसदमध्ये (दुई निलम्वित) १८ जनाले त्यसका लागि हस्ताक्षर गरिसकेका छन् । तर, उनीहरुसँग रहेको संख्या पनि नयाँ सरकार गठनको लागि पर्याप्त छैन ।

Back to top button