जेठ ६ गतेः एमाले र गठबन्धन बीच शक्तिको परिक्षा

जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा राजनीतिक दलहरु बीच शक्ति परिक्षा हुने भएको छ । सत्ताधारी दल नेकपा एमाले वाहेका दलहरुले गठबन्धन नै गरेर सत्ताधारी दल नेकपा एमालेलाई हराउने रणनीतिमा लागेका छन् । विपक्षी गठबन्धनका साझा उम्मेदवार खिमलाल देवकोटाले एमाले उम्मेदवारलाई पराजित गर्ने अंक गणितले देखाएको छ । देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादीका साझा उम्मेद्‌वारको रूपमा अघि सारिएको छ ।

तत्कालीन माओवादी केन्द्रको तर्फबाट (बागमती प्रदेशबाट) निर्वाचित रामबहादुर थापा एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनी निर्वाचित क्षेत्र रिक्त छ । साेही क्षेत्रमा आउँदो ६ जेठमा उपनिर्वाचन तय भएको छ ।

एमालेका तर्फबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि बादललाई नै उम्मेदवार बनाउने पार्टी बैठकमा घोषणा गरेका थिए । तर, बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उम्मेदवारको बारेमा आफूहरुले छिट्टै निर्णय गर्ने बताए । जसकारण एमालेको उम्मेदवार बादल नै हुने वा अर्को व्यक्ति भन्ने स्पष्ट हुन बाँकी रहेको देखिन्छ ।बागमती प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, नेमकिपा र राप्रपा दर्ता भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनका मतदाता पहिल्यै कुनै निश्चित पार्टीबाट निर्वाचित भइसकेका हुनाले उनीहरुले दिने मत पनि सोही अनुसार हुने आकलन गरिन्छ। जसले देवकोटा निर्वाचित हुने सम्भावना बढी देखिन्छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य, नगरपालिकाका प्रमुख- उपप्रमुख र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष मतदाता हुन्छन् । बागमती प्रदेश सभामा ११० सदस्य छन् । त्यस्तै, यो प्रदेशका १३ जिल्लामा ११९ स्थानीय तह छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ । तसर्थ ११० जना प्रदेश सभा सदस्यको मतभार ५२८० हुन्छ । त्यस्तै, ११९ स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी कुल २३८ मतदाता हुन्छन्। उनीहरु प्रत्येकको मतभार १८ हुन्छ । त्यसैले २३८ जनाको मतभार ४२८४ हुन्छ । यसरी राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशको कुल मतभार ९५६४ हुन आउँछ ।

बागमती प्रदेशमा सत्तारुढ एमाले दुई कित्तामा विभाजित छ । त्यहाँ एमालेका कुल सांसद् ५७ जना भए पनि माधवकुमार नेपालको पक्षमा २२ जना छन् । प्रदेश सभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२ र जसपाको एक सांसद् छन् ।

त्यसैले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी र माधव नेपाल पक्षको कुल सांसद् ६८ जना हुन पुग्छन् । ६८ सांसद्को मतभार ३२६४ हुन्छ । ३ जना सांसद् रहेको विवेकशील साझाका सांसद्हरुले पनि यही गठबन्धनका उम्मेदवारको पक्षमा मत दिएमा प्रदेश सभाबाट यो पक्षको मतभार ३४०८ हुनपुग्छ ।

जबकि, ओली पक्षका एमालेका सांसद् जम्मा ३५ जना छन् । अर्थात् मतभार १६८० छ । नेपकिपा र राप्रपाका ४ सांसद् सो पक्षमा थपिएमा मतभार १८७२ पुग्छ ।

प्रदेश सभामा दुवै पक्षको मत आकलन गर्न सकिए पनि स्थानीय तहमा छुट्याउन भने कठिन छ ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षमा एमालेका मात्रै १३३ जना जना छन् । तीमध्ये कति ओलीको पक्षमा छन् र कति नेपालको पक्षमा छन् भन्ने स्पष्ट छैन ।

बागमतीका स्थानीय तहमा कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ६८ जनाले जितेका थिए । माओवादीबाट प्रमुख र उपप्रमुख गरी ३३ जना जितेका छन् । जसपाका एक जना छन् । कांग्रेस, माओवादी र जसपाको मत एकै जनाको पक्षमा खस्ने भएकाले उनीहरुको संख्या १०२ हुन्छ । उनीहरुको मात्रै मतभार १८३६ हुन आउँछ ।

यसरी, प्रदेश सभाबाट कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपा मात्रै मतभार ३२६४ र स्थानीय तहबाट १८३६ हुने देखिन्छ। उनीहरुको पक्षमा कुल मतभार ५१०० हुन आउँछ ।

कुल मतभार ९५६४ रहेको बागमती प्रदेशमा त्यो मत ५३ प्रतिशतभन्दा बढी हो । माधव नेपाल पक्षका स्थानीय तहका प्रमुख-उपप्रमुखले पनि यही गठबन्धनलाई मत दिए भएपछि मतान्तर बढी हुन्छ नै, विवेकशील साझा पनि थपियो भने झन् मतान्तर बढी बढी हुन आउँछ ।

Back to top button